जेठ –२५, खोटाङका बिभिन्न होलसेल तथा खुद्रा पशलमा म्याद नाघेका बिस्कुट तथा चाउचाउ बिक्री भइरहेको फेला परेको छ ।
अभावको कारण देखाउँदै व्यवसायीले अनूचित नाफा लिन थालेको गुनासो आएपछि जिल्ला प्रशासन, कोलेनिका, घरेलु तथा साना उद्योग बिकास समिति, उद्योग बाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयले गरेको छड्के अनुगमनकाक्रममा सदरमुकाम दिक्तेलका पाँच वटा होलसेल तथा खुद्रा पशलमा म्याद नाघेको बिस्कुत तथा चाउचाउ बिक्री भइरहेको फेला परेको हो । अनुगमन गरिएका सदरमुकाम दिक्तेलका २७ वटा होलसेल तथा खुद्रा पशल मध्ये अनुगमन टोलीले पाँच वटा होलसेल तथा खुद्रा पशलबाट ठूलो मात्रामा म्याद नाघेका बिस्कुट तथा चाउचाउ बरामद गरेको छ ।
अनुगमनकाक्रममा श्रीकृष्ण इन्टरप्राइजेजबाट म्याद नाघेको मिल्क क्रिम बिस्कुट सय प्याकेट, कोकोनट बिस्कुट ९९ प्याकेट, हर्लिक्स बिस्कुट ५१ प्याकेट, साइनो क्रेकर बिस्कुट २९ प्याकेट, गुड डे बिस्कुट १४ प्याकेट र बालाजी भुजीया १४ प्याकेट बरामद भएको छ । यस्तै, प्रेरणा किराना पशलबाट ३३ प्याकेट कोकोनट बिस्कुट, सन्तोष किराना पशलबाट कोकोनट क्रन्च बिस्कुट १९ प्याकेट र बटरनाइस ६ प्याकेट, रेबिका किराना पशलबाट मिल्की क्रिम बिस्कुट १८ प्याकेट तथा जोशी स्टोरबाट फटाफट चाउचाउ ५ प्याकेट बरामद भएको जिल्ला प्रशासन कार्यालय खोटाङका लेखाप्रमुख दिपक ठाकुरले जानकारी दिनु भयो ।
अनुगमनकाक्रममा चार महिनादेखि वर्षदिनसम्ममा म्याद नाघेको बिस्कुट तथा चाउचाउका प्याकेटहरु भेटिएको संयुक्त अनुगमन टोलीले जनाएको छ । कडाई गर्ने हो भने सदरमुकाम दिक्तेलका खुद्रा तथा होलसेल पशलका स्टोरमा राखिएका ठूलो मात्रामा म्याद नाघेको उपभोग्य सामानहरु भेटिने लेखाप्रमुख ठाकुरले बताउनु भयो । डिलरलहरुले तराईबाट म्याद सकिन लागेका सामानहरु पठाइदिने गरेका कारण जिल्लामा म्याद नाघेका सामानहरु बिक्रीबितरण भइरहेको खोटाङ उद्योग बाणिज्य संघका कोषाध्यक्ष ज्ञानेन्द्र जोशीले बताउनु भयो । नियन्त्रणमा लिइएको बिस्कुट तथा चाउचाउ जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । गत जेठ–१४ गते ओखलढुंगाको हर्कपुर तथा उदयपुरको घुर्मीस्थित सुनकोशी नदीको बेलीब्रीज निकालिए लगत्तै दिक्तेलका व्यवसायीले आफ्नो सामानको मूल्या बढाएको गुनासो आएपछि प्रशासनको अगुवाईमा बजार अनुगमन गरेको हो । बिहिबार र शुक्रबार राती सात बजेसम्म गरिएको अनुगमनकाक्रममा दिक्तेलका सबै पशलहरुमा मूल्यासूची नराखिएको भेटिएको छ ।
यसैबीच, अभावको कारण देखाउँदै अनूचित नाफा लिने आठ वटा किराना पशलहरुलाई प्रशासनमा उपस्थित हुन र मूल्या बढाउनुको कारण पेश गर्न पत्र थमाएको छ । अनुगमन टोलीले खड्का किराना पशल, न्यू काभ्रे स्टोर, सबिना किराना पशल, सेखुवाली बस्नेत एण्ड ट्रेड एण्ड सप्लायर्स, महेश किराना पशल र लुना किराना पशलका सञ्चालकलाई आईतबार प्रशासनमा उपस्थित हुन र मूल्या बढाउनुको कारण पेश गर्न पत्र थमाएको हो । अनुगमन टोलीका अनुशार बिनाइजाजत १४ वटा मदिरा पशलहरु सञ्चालन भइरहेको भेटिएका छन् ।