जेठ–२७, हाम्रो समाजमा दलित र गैरदलितबीच थिचोमिचो अझै जारी छ । तर, खोटाङमा दलितमाथि दलितकै थिचोमिचो हुने गरेको पाइएको छ ।
आफ्नो जिम्मेवारीबाट टाढा हटेको र आफूहरुले भनेको कुरा नमानेको भन्दै खोटाङका एक दलित युवामाथि दलितबाटै निर्घात कुटपिट भएको छ । बाम्राङस–३ का ४० वर्षीय ललितमान सार्कीलाई स्थानीय २८ वर्षीय दिपबहादुर विश्वकर्मा र ३० वर्षीय खड्गबहादुर विश्वकर्माले अपशब्द बोल्दैै कुटपिट गरी सख्त घाईते बनाएका हुन् ।
गाउँमा विद्युत विस्तारको क्रममा आवश्यक पर्ने ट्रान्सफर्मर बोक्न नगई गाउँ डुलेर ठूलो बनेको भन्दै बाटो हिडिरहेका उनलाई एक्कासी आक्रमण गरेको पीडित ललितमानको भनाइ छ । आफू व्यक्तिगत काममा गएर फर्किएको समयमा बाटो ढुकेर कुटपिट गरी घाईते बनाएको पीडितले बताउनुभयो ।
कुटपिटबाट शरीरको विभिन्न भाग र अनुहारमा गहिरो चोट लागेका ललितमानको जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा उपचार भईरहेको छ भने, घटनामा संलग्नहरु फरार छन् ।