असार–१, खोटाङबासीको सहकार्यमा सदरमुकाम दिक्तेलमा स्थापना भएको सालपा विकास बैंकले दश महिनाको अवधिमा झण्डै साँढे चार करोड निक्षेप संकलन गरेको छ । 
‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारा सहित २०६९ साल साउन–३ गतेदेखि कारोबार शुरु गरेको बैंकले गत बैशाख मसान्तसम्ममा ४ करोड ४१ लाख ७ हजार ६ सय ६० रुपैयाँ निक्षेप संकलन गरेको हो । 
बैंकले यस अवधिमा जिल्लाका १ हजार ९ सय ३६ जना निक्षेपकर्ताहरुबाट निक्षेप संकलन गरेको र १०१ जनालाई ३ करोड ८० लाख २२ हजार ४ सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको बैंकका कार्यकारी अधिकृत ईश्वरमान राईले जानकारी दिनुभयो । 
खोटाङका १२० जना सेयर सदस्यहरुको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी २ करोडको पुँजी लगानीबाट शुरु गरिएको बैंकले चल्ती तथा कल खाता, साधारण, नारी, विद्यार्थी, ज्येष्ठ, बाल, खुत्रुके लगायतका १० वटा बचत खाता, ८ किसिमका मुद्दती खाता र ९ किसिमका कर्जा तथा सापट विप्रेषणलगायतका सेवा प्रवाह गर्दै आएको शनिबार दिक्तेलस्थित कुमारी चलचित्र भवनमा आयोजित बैंकको प्रथम साधारणसभामा जानकारी दिइएको छ । 
यस्तै, बैंकले आईएमई, प्रभु, हिमाल, रिलायबल र वेष्टन युनियन रेमिटहरुको एजेन्सी सेवा समेत प्रदान गर्दै आएको छ । ‘जनता बैंकमा होइन, बैंक जनतासम्म जानु पर्छ’ भन्ने नारासहित बैंकले असार–३ गते पश्चिमी क्षेत्रका सर्वसाधारणलाई लक्षित गर्दै हलेसीमा शाखा बिस्तार गर्ने तयारी गरेको बैंकका सञ्चालक समितिका अध्यक्ष टंक राईले जानकारी दिनु भयो ।  
बैंकिङ पहुँच नपुगेका सर्वसाधारणलाई गाउँगाउँमा पुगेर सेवा प्रवाह गर्दै बित्तीय क्षेत्रमा आत्मनिर्भर बनाउने उद्धेश्यले सालपा विकास बैंकको स्थापना गरिएको थियो । नेपाल राष्ट्र बैंकबाट ‘ख’ श्रेणीको इजाजतपत्र प्राप्त बैंकले स्वस्थ बैंकिङ प्रतिष्पर्धाबाट आकर्षक ब्याज प्रदान गरी संकलन भएको निक्षेप रकमलाई जिल्लाका व्यवसायी, उद्यमीहरुको व्यवसाय प्रवर्धनकालागि सुलभ व्याज दरमा कर्जा प्रवाह गर्दै आएको कार्यकारी अधिकृत राईले जानकारी दिनुभयो ।