
असार–१४, खोटाङ बस व्यवसायी संघले खोटाङमा मध्यपहाडी यातायात सेवा समितिको सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
संघले हप्ता दिन अघिदेखि जिल्लाको दिक्तेल–जयरामघाट सडक खण्डमा सञ्चालित मध्यपहाडी यातायात सेवा समितिको सवारी साधन सञ्चालनमा रोक लगाएको हो । मध्यपहाडी यातायात सेवा समितिका अध्यक्ष दलबहादुर तामाङले जिल्लामा आफ्नो सवारी साधन चल्न नदिएको, आफ्नो यात्रुहरु खोसेर आफ्नो सवारी साधनमा हालेको, कर्मचारीमाथि कुटपिट गरिएको आरोप बताउनु भयो ।
शुक्रबार बिहान पनि संघका पदाधिकारीको निर्देशनमा जयराममा आफ्ना कर्मचारीमाथि कुटपिट भएको अध्यक्ष तामाङले जानकारी दिनु भयो ।
गत बैसाखदेखि यातायात सेवा शुरु गरेको मध्यपहाडी यातायात सेवा समितिको सवारी साधन सञ्चालनमा रोक लगाउनुको कारण भने बस व्यवसायी संघले खुलाएको छैन ।
खोटाङ बस व्यवसायी संघले जयराममा १०÷१२ जना युवाहरु परिचालन गरी आफुहरुलाई अवरोध गरिएको मध्य पहाडी यातायात सेवा समितिका सहकोषाध्यक्ष रमेश राईको भनाई छ ।
बस व्यवसायी संघको गतिबिधिकाबारेमा प्रशासनलाई जानकारी गराउँदै सुरक्षाकालागि आग्रह गरिसकिएको मध्य पहाडी यातायात सेवा समितिले जनाएको छ ।
मध्य पहाडी यातायात सेवा समितिको गाडी रोकिएको जानकारी आएको भएपनि यात्रु खोस्ने र कर्मचारीमाथि कुटपिट नभएको खोटाङ बस व्यवसायी संघका सचिव फडिन्द्र राईले बताउनु भयो । यसबारेमा दुबैपक्षलाई बोलाएर आउँदो आइतबार छलफल गरिने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनु भयो ।
दुबै समितिको सहमतीमा सेवा समितिले गत बैसाखदेखि यातायात सेवा सञ्चालनमा ल्याएको थियो ।