असार–२४, आफ्नो गल्तीका कारण दुई जनाको ज्यान गएको समाचार सार्वजनिक भएपछि खोटाङको मात्तिममा हरको स्वास्थ्य चौकीका अहेव गगनदेव शाह गल्ती ढाकछोप गर्न लागी परेका छन् ।

आफ्नो बचाउकालागि अहेव शाहले मृतकका आफन्तहरुको किर्ते हस्ताक्षर तयार गरी विज्ञाप्तीमार्फत गल्ती ढाकछोपमा लागेका हुन् ।

शाहले ‘अहेवको कारण ज्यान नगएको’ उल्लेख भएको पीडितहरुको हस्ताक्षरसहितको विज्ञप्ती सार्वजनिक गरेपछि यस्तो खुलासा भएको हो । ‘मुद्दा परेकाले कागजमा हस्ताक्षर गर्न वा सदरमुकाम जान’ भन्दै शाहले हस्ताक्षर गर्न लगाएको पीडितहरुले बताएका छन् ।

अहेव शाहकै गल्तीका कारण मात्तिम ९ का भगतलाल चौलागाईंकी डेढ वर्षीया छोरी पवित्रा चौलागाईं र मात्तिम ८ की रत्नकुमारी चाहारको १४ वर्षीय छोरा बबिन चाहारको ज्यान गएको समाचार सार्वजनिक गरिएको थियो । उनकै कमजोरीका कारण मात्तिम ९ का कृष्ण राई अपांग बन्नुभएको छ ।