असार ३१ । आइतबार चालु आवको बजेट सार्वजनिक भएको छ । बजेटले कुन जिल्लालाई कति छोयो भन्ने चर्चा चलिरहँदा भौगोलिक रुपमा पछि परेको खोटांगले आशाजनक रुपमा बजेट यो पटक पनि पाउन सकेन ।

सडकका विषयमा घुर्मी-खुर्कोट, तथा हलेसी-दिक्तेल सडकखण्ड कालोपत्रे गरिने भएको छ । यस्तै लामिडाँडा विमानस्थलको स्तरउन्नती गरिने पनि उल्लेख छ ।

यसैगरी बजेट भाषणमा खोटांगको हलेसी महादेवको जिर्णोद्धार, संरक्षण र संवद्र्धनका लागि बजेट विनियोजन गरिएको छ ।

समग्रतामा देशका सबै तह तप्काका नागरिकले पाउने चिज बाहेक यी माथि उल्लेख भएका बाहेक खोटांगको नाम लिएर बजेटले छुन सकेको छैन ।

सडक कालोपत्रे राम्रो कुरा हो । यसलाई चाँडो गरिए खोटांगबासीलाई लाभदायक छ । विमानस्थलको कुरामा लामिडाँडा मात्रै नभएर सदरमुकाम नजिकै रहेको खानीडाँडा विमानस्थलको नाम उल्लेख हुनुपर्ने हो त्यो हुन नसक्नु दुःखदायी बन्न पुगेको छ । सञ्चारमाध्यममा समेत पटक पटक खानीडाँडा विमास्थल जोखिममा रहेको उल्लेख भईरहँदा बजेटले छुन नसक्नु दुःखदायी छ ।

हलेसी महादेवलाई पूर्वको पशुपति भनेर चिन्ने गरिन्छ । बजेटमा नाम उल्लेख हुनु राम्रो कुरा हो तर जसरी नाम उल्लेख भएको छ त्यसको जिर्णोद्धार, प्रचार प्रसारका लागि त्यतिले मात्रै पुग्ने देखिदैन ।

खोटांग र भोजपुरको सिमानामा रहेको ट्यांकेलाई पर्यटकिय क्षेत्रका लागि विकसित गर्न बजेटले सम्बोधन गर्नुपर्ने हो, अझ ट्याम्के भ्यू टावरका लागि निक्कै खर्च समेत भईसकेको अवस्थामा यसको नाम निशाना समेत लिएको छैन ।

यसको अलवा खोटांगमा स्वास्थ्य, शिक्षा, विद्युत, पर्यटन, विपन्नता लगायत थुप्रै कुराले पनि बजेटको आश गरेर बसिररहेका थिए । त्यो पूरा हुन सकेन ।