साउन–१०, खोटाङमा निर्माण गर्न लागिएको बसपार्ककालागि जग्गादाताहरुले ३५ रोपनी जग्गा बसपार्कको नाममा पास गरिदिएका छन् । 
स्थानीय जग्गादाताहरुले सदरमुकाम दिक्तेल–५ सोल्मा र दिक्तेल–४ आचार्य गाउँमा निर्माण गर्न लागिएको बसपार्ककालागि आवश्यक जग्गा निशुल्क पास गरिदिएका हुन् । 
जग्गादाताहरुले सोल्मामा निर्माण गर्न लागिएको बसपार्ककालागि २० रोपनी र आचार्य गाउँमा निर्माण गर्न लागिएको बसपार्ककालागि १५ रोपनी जग्गा पास गरिदिएको जिल्ला मालपोत कार्यालय खोटाङले जनाएको छ । उनीहरुले मंगलबार मालपोत कार्यालयमार्फत बसपार्ककालागि भन्दै गाविसको नाममा जग्गा पास गरिदिएको स्थानीय नेता सन्तोष राईले जानकारी दिनु भयो । 
बसपार्क बनाउनकालागि पहल थालिएको दुई वर्षपछि गत असारमा जिल्लामा बसपार्क निर्माण गर्ने स्थानको टुंगो लागेको थियो । बसपार्कको अभावमा सदरमुकाम दिक्तेलका सडकमै सवारीसाधनहरु पार्किङ गर्नुपर्ने बाध्यता छ । 
सोल्मामा निर्माण गरिने बसपार्ककालागि स्थानीय रत्नबहादुर राईले ९ रोपनी ४ आना, टेकबहादुर राईले २ रोपनी ३ आना, सुर्य राई २ रोपनी १२ आना, बिजय राईले १ रोपनी ८ आना, धर्मशुर राईले १४ आना, मदन राईले ११ आना र रत्न राईले ८ आना जग्गा पास गरिदिनु भएको छ । 
यस्तै, आचार्य गाउँमा निर्माण हुने बसपार्ककालागि सोमप्रसाद आचार्यले ४ रोपनी, अबिनारायण आचार्यले ३ रोपनी, गणेश आचार्यले साँढे २ रोपनी, पर्शुराम आचार्यले २ रोपनी, देबीप्रसाद आचार्यले डेढ रोपनी, गोपाल आचार्यले १ रोपनी तथा गोमा बिश्वकर्मा र भवकृष्ण आचार्यले आधा–आधा रोपनी जग्गा पास गरिदिनुभएको स्थानीय गोपालचन्द्र आचार्यले जानकारी दिनुभयो ।