साउन–१४, खोटाङमा मनोज हत्यकाण्ड भएको २२ वर्ष भएको छ ।
२०४८ साल साउन–१५ गते बुधबार नेपाल राष्ट्रिय कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो । 
दिक्तेल बहुमुखी क्याम्पसमा अध्यायनरत विद्यार्थी जोशीको हत्या भएको घटनालाई जिल्लामा ‘मनोज हत्याकाण्ड’ कारुपमा चिन्ने गरिन्छ । तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुशारको सेवा सुबिधा नदिइएको बिरोधमा कर्मचारीहरुको अगुवाईमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीलाई दिक्तेलको हेलीप्याडमा गोली लागेको थियो । 
बिरोध जुलुस बजार परिक्रमापछि तत्कालिन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा जोशीलाई प्रहरीको गोली लागेको घट्नाका प्रत्यक्षदर्शीहरु बताउँछन् ।

उसबेला आक्रोशित भीडले केही कार्यालय प्रमुखहरुलाई नियन्त्रणमा लिएर घाँस खुवाउने लगायतका दुव्र्यबहार गरेका थिए । सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई जिल्लामा ‘मनोज–झपेन्द्र’ स्मृति दिवसकारुपमा मनाइदै आइएको छ । उसबेला आन्दोलनमा सहभागी बनेका जिल्लाका १३ जना कर्मचारीहरु जागीरबाट हटाइएका थिए । 
सदरमुकाम दिक्तेलका बुवा नारायणप्रसाद जोशी र आमा अम्बिका जोशीको कान्छो छोराकारुपमा जोशीको २०३० साल असोज–२३ गते जन्म भएको थियो । वास्तबिक नाम सर्मेन्द्र भएपनि मनोजका नामले परिचित जोशी इन्द्रणी साँस्कृतिक समाज तथा एक युवा संगठनमा आवद्ध हुनुहुन्थ्यो । यसबाहेक जोशी जिल्लाका एक कुशल खेलाडी पनि हुनुहुन्थ्यो । 
२२ औ शहिद मनोज स्मृती दिवसको अबसरमा शहिद मनोज समाधि स्थल सरसफाइ गरिदै
मनोजको हत्या भए लगत्तै एक छानबीन समिति गठन गरिएपनि अहिलेसम्म दोषीलाई कारबाही र पिडितलाई क्षतीपूर्तीको व्यवस्था हुन नसकेको मनोज परिवारको गुनासो छ । यसबाहेक जोशीलाई शहीदकोरुपमा घोषणा गर्नुपर्ने कर्मचारी संगठन तथा परिवारको माग पनि अहिलेसम्म सम्बोधन हुन सकेको छैन । जिल्लाका राजनैतिक असहमतीका कारण जोशीलाई शहीदकारुपमा स्थापित गर्न नसकिएको नेपाल निजामती कर्मचारी संगठन खोटाङका अध्यक्ष ध्रुब कार्कीको भनाई छ । 
यसैबीच, खोटाङमा मनोज–झपेन्द्र स्मृति दिवस मनाईदैछ । मनोज स्मृति प्रतिष्ठान र नेपाल निजामती कर्मचारी संगठन खोटाङको आयोजनामा सदरमुकाम दिक्तेलमा मनोज–झपेन्द्र स्मृति दिवस मनाईदैछ । 
आईतबार बिहान व्याटमिन्टन प्रतियोगीता गर्दै उद्घाटन गरिएको स्मृति दिवस रेडियो अन्तरक्रीया, म्यूजीकल चेयर, लोकसेवा आयोग लक्ष्यीत हाजिरी जवाफ, बिरामीलाई फलफुल बितरण, सरसफाई कार्यक्रम लगायतका कार्यक्रमहरु गर्दै साउन–१५ गतेसम्म मनाइने छ । 
स्मृति दिवसको पहिलो दिन व्याटमिन्टन प्रतियोगीता तथा रेडियो अन्तरक्रीय कार्यक्रम गरिएको छ । अन्तरक्रीयामा सहभागी बनेका दलका नेताहरुले राजनैतिक कारणले मनोज जोशी शहीद घोषणा हुनबाट बञ्चित हुनुपरेको बताएका छन् ।