साउन–२४, खोटाङका ५१ विद्यालयको सरसफाई सम्बन्धी वर्तमान अवस्थाको अध्ययन तथा विश्लेषण गरिने भएको छ । 
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ शाखा खोटाङद्धारा सञ्चालित विद्यालय सरसफाई कार्यक्रम अन्तर्गत आगामी साउन २७ गतेबाट विद्यालयको सरससफाईको अवस्था अध्ययन तथा विश्लेषण गरिने भएको हो । 
जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले छनौट गरेका खार्मी, पाथेका, बास्पानी, दिक्तेल, नुनथला, अर्खाैले, महादेवस्थानलगायतका गाविसमा पर्ने विद्यालयहरुको सरसफाईको वर्तमान अवस्थाको अध्ययन तथा विश्लेषण गरिने महांसघ शाखा खोटाङका अध्यक्ष धनप्रसाद गिरीले जानकारी दिनुभयो । 
विद्यालयमा छात्र र छात्राका लागि छुटटाछुटै शौचालयको सुविधा भएनभएको, प्रत्येक विद्यालयका ५० जना छात्रा बराबर एक शौचालय भएनभएको, शौचालयको नियमित सरसफाई भएनभएको लगायतका विषयमा अध्ययन तथा विश्लेषण गरिने अध्यक्ष गिरीले जानकारी दिनुभयो । 
यस्तै बालमैत्री, अपाङमैत्री र महिलामैत्री शौचालय भएनभएको समेत अध्ययनगरि समस्या समाधान गर्न सम्बन्धित निकायमा माग दावी गर्न सक्षम गराई स्थानीयस्तरदेखि नै बजेट वृद्धिका लागि पहल गरिने महासंघले जनाएको छ । 
कार्यक्रम सञ्चालन गरिने क्षेत्रका विद्यालयका प्राचार्य, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक प्रतिनिधिलगायतलाई यसको तयारीको बारेमा जानकारी गराइएको महासंघका सचिव कृष्ण गुरुङले जानकारी दिनुभएको छ । 
सरसफाई कार्यक्रम अन्तर्गत उत्कृष्ट कार्य कार्यसम्पादन गर्ने जिल्लाका एक विद्यालयलाई १ लाख ८५ हजार बराबरको नगद पुरस्कार समेत प्रदान गरिने महासंघले जनाएको छ ।