साउन–२८, उपचारकाक्रममा ज्यान गुमाएका खोटाङका एक थुनुवाका आफन्तले दोषी छानविनगरि तत्काल कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । 
उपचारकाक्रममा जिल्ला अस्पताल खोटाङमा असार–२६ गते ज्यान गुमाएका पाथेका–२ का १८ वर्षीय थुनुवा भुदेउ भनिने किरण राईको आफन्तले यस्तो माग गरेको हो । 
जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय एवं राजनीतिक दललाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले दोषीलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ती दिलाइनुपर्ने माग गरेको छ । 
रोगका कारण नभइ प्रहरीको कुटपिट र चरम यातनाबाट राईको ज्यान गएको भन्दै मृतकका आफन्तले राष्ट्रिय मानव अधिकार आयोगलाई तत्काल घटनाको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ । 
मृतकका आफन्तहरुले माग पूरा नभए चरमवद्धरुपमा आन्दोलनमा जाने पनि ज्ञापनपत्रमार्फत चेतावनी दिएको छ । आफ्नो दोष ढाकछोपकालागि जिल्ला प्रशासन, प्रहरी र अस्पतालको मिलेमतो भइरहेको आरोप लगाउँदै पोटमार्टमको रिपोर्ट पनि तत्काल सार्वजनिक हुनुपर्ने माग गरेको छ ।
प्रहरी हिरासतमा रहेको अवस्थामा आँखामा रगत जमेको, अनुहार र हातखुट्टा सुन्निएको, रगत छादेको र पिसावबाट रगत गएको देखिएका कारण राईको प्रहरीको शारीरिक यातनाबाटै ज्यान गएको पीडितको भनाइ छ । कुटपिट र यातनाबाट ज्यान गएको छोरालाई प्रशासन र प्रहरीले निमोनियका कारण ज्यान गएको भन्दै ढाकछोप गर्न खोजेको मृतककी आमा लक्ष्मी राईले बताउँदै आउनुभएको छ । 
घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्नेमा जिल्लास्थित राजनैतिक दलहरुले समेत ऐक्यवद्धता जनाएका छन् । उनीहरुले घटनाका विषयमा यथार्थ छाबिन गर्नुपर्ने र उचित क्षतीपूर्ती दिलाउनु पर्ने पीडितहरुको माग जायज भएको बताएका छन् ।
हत्याको आरोपमा गत जेठ–२८ गते पक्राउ परेका राईको उपचारकाक्रममा असार–२६ गते ज्यान गएको थियो । जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिइएका राईको निमोनियका कारण ज्यान गएको प्रहरीको दावी गर्दै आएको छ । राई प्रहरीको हिरासतबाट भाग्दै गरेको अवस्थामा बुइपाबाट पक्राउ परेका थिए । 
बुइपाबाट पक्राउ गरेर ल्याउनेक्रममा प्रहरीले राईलाई शारीरिक यातना दिएको, कारागार लैजानेक्रममा पनि यातना दिँदै लगेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् ।