साउन–२९, नवजात शिशु र आमालाई चिसोका कारण लाग्ने रोगबाट बचाउने उद्देश्यले जिल्ला अस्पताल खोटाङको प्रसुती गृहमा ब्ल्याङ्केट र हिटर उपलब्ध गराइएको छ । 
गाउँ बाल सञ्जाल दिक्तेलले प्रसुती गृहमा जन्मने शिशुलाई चिसोबाट लाग्ने निमोनिया, रुघाखोकी, टाईफाईडजस्ता रोगबाट बचाउने जोगाउने उद्देश्यले उक्त सामाग्री उपलब्ध गराएको हो । 
गाउँ बाल संरक्षण समिति दिक्तेलद्धारा प्रसुती गृहका लागि जिल्ला अस्पताल खोटाङका डाक्टर नवलकिशोर झालाई ब्ल्याङ्केट हस्तान्तरण गरिँदै । तस्बिर: केदार मगर
गाउँ बाल संरक्षण समिति दिक्तेलको सहजीकरणमा मंगलबार अस्पतालका डाक्टर नवलकिशोर झालाई सामाग्री हस्तान्तरण गरिएको समितिका सचिव गंगाबहादुर विश्वकर्माले जानकारी दिनुभयो । ६ शैयाको प्रसुती गृहमा जन्मने नवजात शिशु तथा आमालाई चिसोका कारण विभिन्न प्रकारका रोग लाग्ने समस्यालाई हल गर्ने उद्देश्यले उक्त सामाग्री उपलब्ध गराइएको समितिका अध्यक्ष उद्धव आचार्यले बताउनुभयो ।
अस्पतालमा विभिन्न समास्या हुँदाहुँदै पनि कसैबाट सहयोग प्राप्त नभइरहेको अवस्थामा बाल सञ्जालको सानो सहयोगले अस्पताललाई ठूलो सहयोग पुगेको अस्पताल विकास समितिका अध्यक्ष होमकाजी आचार्यले बताउनुभयो । विभिन्न समस्याका बाबजुद पनि सञ्चालन भइरहेको जिल्लाको एक मात्र अस्पतालमा दुई वर्षको अवधिमा यो सहयोग पहिलो भएको पनि उहाँको भनाइ छ ।