साउन–३०, खोटाङका एक युवकले आफूलाई प्रहरीको अनावश्यक ज्यादती भएको भन्दै आपत्ती जनाउनुभएको छ । 
माक्पा–४ बस्ने मानबहादुर राईले बिना कारण सोमबार प्रहरीले पक्राउगरि २४ घण्टाभन्दा बढी हिरासतमा राखेको भन्दै आपत्ती जनाउनुभएको हो ।
कानूनको पहरेदारको रुपमा रहेको प्रहरीले आफू घरबाट काठमाडौं जानेक्रममा अर्खौलेस्थित प्रहरी चौकीका प्रहरीले बिना कारण पक्राउगरि हतकडीसहित जिल्ला प्रहरी कार्यालयमा ल्याएर हिरासतमा राखेको उहाँले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ । 
उहाँले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ, ‘आफ्नो यथार्थ परिचय दिँदादिँदै पनि आफूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएर हिरासतमा राख्यो, यो कानूनको समेत उलङ्घन भएको छ ।’
पटक–पटक आफू निर्दोष भएको जानकारी गराउँदा गराउँदै पनि मेरो व्यक्तिगत चरित्रमा आँच आउनेगरी प्रहरीले आफूलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको उहाँको भनाइ छ । अनुसन्धानको नाममा किटानी जाहेरी नै नभइ प्रहरीले आफूलाई हतकडी लगाउनुले कानूनको समेत उलङ्घन भएको छ, मंगलबार जारी विज्ञप्तीमा भनिएको छ । 
माक्पा–४ लुम्दुका २६ वर्षीय मानबहादुरले आफूमाथि भएको प्रहरी ज्यादतीको उचित क्षतिपूर्ती दिलाई पाउँ भन्दै मानव अधिकारवादी संघसंस्थासँग माग गर्नुभएको छ । बिना कारण २४ घण्टा भन्दाबढी नियन्त्रणमा लिनुका साथै अनावश्यक प्रहरीले मानसिक यातना दिनुले मेरो व्यक्तिगत चरित्र हत्या भएको छ उहाँले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।
उता, हुलिया मिलेकाले आफूहरुले नियन्त्रणमा लिएर गल्ती गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले  स्वीकार गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘गल्ती भएसँगै माफी मागेर एक हजार रुपैयाँ गाडी भाडा समेत दिएको छु ।’