साउन–३२, चट्याङ लागेर खोटाङमा एक बृद्धको ज्यान गएको छ ।
विहिबार साँझ परेको चट्याङ लागेर जिल्लाको उत्तरी गाबिस राखाबाङदेल ७ का ५७ वर्षका हर्कबहादुर कार्कीको ज्यान गएको हो ।
घरमै बसिरहेका कार्कीको चट्याङ लागेर घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरीक्षक रमेश बस्नेतले बताउनुभयो । मृतक कार्कीको शव पोष्टमार्टमका लागि शुक्रबार जिल्ला अस्पताल दिक्तेल ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
यसैबीच, बिहिवार साँझ परेको चट्याङ लागेर ऐसेलुखर्क–६ की ७० बर्षीय बृद्धा रामकुमारी तामाङ घाइते हुनुभएको छ । शरीरका विभिन्न ठाउमा चोट लागेका  घाइते तामाङको प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कमा उपचार भइरहेको छ ।