भाद्र–१, पिउने पानीको अभाव भएपछि खोटाङको पश्चिमी गाविस दुर्छिमका स्थानीयवासी घरको छानाबाट संकलन भएको पानी उपभोग गर्न बाध्य भएका छन् । 
नजिकैमा पिउने पानीको श्रोत नभएपछि आकाशबाट परेको वर्षे पानी संकलन गरेर उपभोग गर्ने गरेका हुन् । 
घरको छानामा पाइप जडान गरेर ट्याङ्कीमा संकलन गरिने र संकलन भएको पानी उपभोग गर्ने गरेको स्थानीयबासी चक्रबहादुर राईले बताउनुभयो । नजिकै पानीको श्रोत नभएकाले वैकल्पिक उपाय अपनाएर भएपनि पानीको व्यवस्था गर्ने गरेको अध्यक्ष राईको भनाइ छ । उनीहरु वर्षाभरी घरको छानोमा पाइप जडान गरेर पानी संकलन गर्ने गर्छन् । यसरी संकलन गरेको पानी पिउने, लुगा धुने, नुहाउने र गाईभैंसीलाई दिने गर्छन् ।
दुर्छिमका स्थानीयबासी नजिकैमा पानीको श्रोत नभएपछि हिउँदको समयमा दुई घण्टासम्म हिँडेर पिउने पानी ल्याउन बाध्य छन् । उनीहरु भन्छन्, ‘वर्षाद्को समयमा त आकाशको पानी भएपनि पिउन पाएका छौं, हिँउद्मा कन्त बिजोग हुन्छ ।’
नजिकमा पानीको श्रोत नभएपछि वडा नम्बर–१, २, ३ र ४ का सयौं घर उपभोक्ता यस्तै समस्यामा पर्ने गरेका छन् । पानीको अभाव भएपछि त्यहाँका बालबालिका बिहान र बेलुका पानी बोक्नमै समय बिताउँछन् ।
यसको प्रत्येक्ष प्रभाव विद्यालय उमेर समूहका बालबालिकामा परेको नवकिरण सेवा समाजका दुर्छिमका अध्यक्ष समेत रहेका चक्रबहादुरको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘उनीहरु विद्यालय जानुअघि र विद्यालयबाट आएपछि पानी बोक्नमै लाग्नुपर्ने भएकाले पढ्ने समयबाट वञ्चित भएका छन् ।’
जिल्लाको सुख्खाग्रस्त क्षेत्रका रुपमा लिइएको त्यस क्षेत्रमा विभिन्न सरकारी तथा गैंरसरकारी संघसंस्थाले पिउने पानीको व्यवस्थापन गर्न पहल गरेपनि सफल भएको छैन । तराईसँगको सिधा यातायात जोडिएको त्यस क्षेत्रमा पानी नभएपछि बाटो हिँड्ने बटुवालाई समेत समस्या भएको छ ।
वषौंदेखि गाग्रीमा पानी बोकेर उपभोग गर्नुपर्ने बाध्यता भएपछि नवकिरण सेवा समाजको पहलमा करिब पाँच मिटर तलबाट पानी तान्ने पहल भइरहेको छ । यसका लागि पहिलो चरणमा २० लाख रुपैयाँ लगानी गर्ने तयारी भइरहेको संस्थाले जनाएको छ । 
यसका लागि प्राविधिक अध्ययन गरिसकिएकाले चाँडै नै काम थालिने अध्यक्ष राईले जानकारी दिनुभएको छ ।