भदौ–२, सामान्यतयाः एउटा मजदुरको न्यूनतम पारिश्रमिक आठ हजार निर्धारण गरिएको छ । तर, खोटाङका एक विद्यालयका शिक्षकहरुको मासिक तलब तीन हजार मात्र छ । मासिक तीन हजार तलवमा दुई शिक्षकले ६ वर्षअघिदेखि पश्चिमी क्षेत्रमा पर्ने च्यास्मीटार–१ हुण्डाखास्थित देउराली प्राबि सञ्चालन गर्दै आएका छन् ।
‘२०६४ सालमा स्थापना भएको विद्यालयले २०६६ सालमा अनुमति पायो तर शिक्षक दरबन्दी भने पाएन ।’ व्यवस्थापन समितिका अध्यक्ष शम्भूकुमार खत्रीले भन्नुभयो,–‘विद्यालय स्थापना भए यता आफ्नै पहलमा शिक्षकहरुकालागि तलवको व्यवस्था गर्दै आएका छौँ ।’ 
हाल कक्षा–३ सम्म पढाई हुने विद्यालयमा कार्यरत शिक्षकलाई गाबिसको बजेटबाट तलवको व्यवस्था हुँदै आएको थियो, तर वर्ष २०६८÷०६९ देखि शिक्षाकालागि गाबिसको बजेट छुट्याउन कडाइ गरिएपछि भने प्रधानाध्यपक शिव अधिकारी र शिक्षक एकनाथ अधिकारीलाई तलव खुवाउन समस्या भएको छ । अबिभाबकले बाँसको टाँटी र खरको छाना हालेर २०६४ सालमा स्थापना गरेको विद्यालयमा हाल ८५ जना विद्यार्थी अध्यनरत छन् । 
नगन्य तलव र गाबिसबाट शिक्षाकालागि बजेट छुट्ट्याउन नमिल्ने निर्देशिकाको अड्चनका कारण अहिले मारमा शिक्षकहरु । ‘तलव छैन, गाबिसबाट पनि बजेट छुट्टयाइएन ।’ प्रधानाध्यपक शिव अधिकारीले भन्नुभयो,–‘समर्पणका भरमा चलेको छ विद्यालय ।’ 
विद्यालयले गाबिसकाट बजेट पाउन छाडेपछि तलव बिहिन बनेका शिक्षकहरुलाई अहिले गाउँकै संघ–संस्था तथा आमा समुहबाट तलव जुटाउने प्रयास भइरहेको व्यवस्थापन समितिका अध्यक्ष खत्रीको भनाई छ । ‘दुःख गरेर स्थापना गरिएको विद्यालय बन्द हुन दिन पनि भएन ।’ अध्यक्ष खत्रीले भन्नुभयो,–‘अव गाउँबाटै शिक्षकलाई तलवको व्यवस्था गर्ने तयारीमा छौँ ।’ 
अहिले बाह्य वाताबण अन्तरगत शिक्षाबाट प्राप्त भएको अनुदान र श्रमदानबाट विद्यालयको चार कोठे भवन बनेको छ । जसकालागि ग्रामिण पुःननिर्माण संस्था आरआरएनले जस्ता दिएको छ । विद्यालयमा बालविकास केन्द्र पनि सञ्चालनमा छन् ।