भदौ–१०, खोटाङमा बुहारीलाई बलात्कार गरेको अरोपमा पक्राउ परेका एक ससुरा कारागार चलान भएका छन् ।
आफ्नै बुहारीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ परेका दोर्पा चिउरीडाँडा–३ का ६५ वर्षका ससुरा प्रेमबहादुर पाण्डेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
बुहारीलाई गत साउन १२ गते बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेलाई जिल्ला न्यायाधीश इश्वरीप्रसाद गौतमको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
सदरमुकाम दिक्तेलबाट घर जानेक्रममा पाण्डेले स्थानीय काउले सामुदायिक बनमा जबरजस्ती बलात्कार गरेको पीडित महिलाको भनाई छ । पाण्डेले जबरजस्ती करणी गरेपछि हत्या गर्न लागेको बेला भीरबाट हामफालेर पीडित महिलाले ज्यान बचाएको महिला मानव अधिकार रक्षक सञ्जाल खोटाङकी अध्यक्ष पूर्णमायाँ तामाङले बताउनुभयो ।
बुहारीलाई प्रशासनबाट एक महिनाभित्रमा नागरिकता दिने सर्तपछि घर फर्कने क्रममा ससुरा पाण्डेले बलात्कार गरेको महिला अधिकारकर्मीहरुको आरोप छ ।
९ वर्षकी छोरीसमेत भइसकेकी ती महिलाका श्रीमान बिवाह भएको चार वर्षपछि उदयपुरमा दोश्रो बिवाह गरी बस्दै आएका छन् । श्रीमानले दोश्रो बिवाह गरेर बसेपछि ती महिलाले विबाह दर्ता, बच्चाको जन्मदर्ता तथा नागरिकताका लागि दाबी दिँदै आएकी थिइन् ।