भदौ–१४,  खोटाङको उत्तरी गाविस फेदीमा व्यवसायिक रुपमा जडिबुटी खेति शुरु गरिएको छ । 
गाविसका आट वटा वन समूका उपभोक्ताहरुले व्यवसायिक रुपमा सतुवा, लोठसल्ला, पाखनबेद, चिराईतो लगायतका महत्वपूर्ण जडिबुटीहरुको खेति शुरु गरेका हुन् ।
वन समूहका गरीब घरधुरीका उपभोक्ताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले जडिबुटि तथा नर्सरी खेति लगाइएको फुङगालुङ अगुवा वन समुहका अध्यक्ष ज्ञानकुमार राईले बताउनुभयो । जिल्लाकै ठूलो वन क्षेत्र र जैबीक विविधता रहेको फेदीका स्थानियबासी वन जंगलमा पाईने विभिन्न महत्वपूर्ण जडिबुटीहरुलाई व्यवस्थापन तथा संरक्षण गर्दै आयमूलक बनाउन जडिबुटी खेति शुरु गरिएको अध्यक्ष राईको भनाइ छ । 
प्रति रोपनी ८० देखि ९० केजीसम्म उत्पादन हुने र प्रतिकिलो ७ सय भन्दा बढिसम्ममा घरैमा खरिदबिक्री हुने तथा सहरमा पु¥याउँदा प्रतिकिलो एक हजारभन्दा बढि मूल्यमा बिक्री हुने चिराइतो उत्पादन तथा बिक्री हुन थालेको उपभोक्ताको भनाइ छ । त्यस क्षेत्रमा अन्य जडिबुटी पनि उत्पादन हुन थालेको सामुदायिक वन सहजकर्ता धनकुमार राईले बताउनुभयो । 
त्यस क्षेत्रमा उत्पादन भएको जडिबुटीहरु धनकुटा, धरान, बिराटनगर, भारत, किमाथाङका नाका हुदै चीन लगायतका शहरहरुमा निर्यात हुने गर्दछ । फेदीका बैशाखे, थामखर्क, चिलिमलौरे, बगाले, छ्र्यौलाहान्ने,फुंगालुङ, छिमालुङ र बैशाखे वालिखा गरी जम्मा आठ वटा सामुदायिक बन उपभोक्ता समुहका उपभोक्ताहरुले जडीबुटीको बिक्रीबाट प्रत्यक्ष लाभ लिईरहेको र प्राप्त रकमले बिपन्न लक्षित घरधुरीहरुको बालबालिकालाई पठन पाठन तथा घरको गर्जो टार्न सहयोग भईरहेको सहजकर्ता राईले बताउनुभयो । 
जडिबुटीको नर्सरी व्यवस्थापनमा तत्कालिन अन्तरिम वन परियोजनाले सहयोग गरेका थिए । जडीबुटीको माग बढिरहेको र फेदीमा अधिकांश जग्गा खाली रहेकाले गर्दा जडिबुटी खेतिलाई अत्याधिक बिस्तार गर्न सकिने वन समूहको भनाइ छ । 
फेदीमा बिखुमा, पदमचाल, गन्धकोकिला, बिषचरा, भोजपत्ता, वनलसुन, मलाकमल , पाँचऔंले, भुतकेशलगायतका जडिबुटीहरु पाइन्छ । विभिन्न प्रकृतिका रोगहरु निको पार्न स्थानीय स्तरमै पनि प्रयोग गर्न सकिने जनाइएको छ । 
विभिन्न प्रसोधित औषधि कम्पनी तथा कारखानामा निर्यात हुने जडिबुटीहरुको पहिचान गर्न फेदी गाविसमा अभियान नै चलाइएको थियो । पहिचानको अभावमा खेर गईरहेका जडिबुटीहरुको पहिचान गरिएको र त्यसबाट फाईदा लिन सकिएकोमा स्थानीय हर्षित भएका छन् ।