भदौ–१९, खोटाङको डुम्रेधारापानी–५ का चन्द्रसिं बस्नेतले आफ्नो कब्जा जग्गा फिर्ताको माग गर्नु भएको छ ।

रावा खोलाको किनारमा रहेको आफ्नो ४० रोपनी जग्गा बैद्य निकट नेकपा–माओबादीका कार्यकर्ताले कव्जा गरेको भन्दै बस्नेतले सो कव्जा जग्गा फिर्ताको माग गर्नु भएको हो ।

नेकपा–माओबादीका कार्यकर्ताले गत वैशाख–२३ गते डुम्रेधारापानी–५ मा रहेको जग्गामा पार्टीको झण्डा गाडेर कब्जा गरेको भन्दै बस्नेतले सोमबार जिल्ला प्रशासन, राजनैतिक दल, सुरक्षा निकाय, मानव अधिकार आयोग, पत्रकार समक्ष कव्जा जग्गा फिर्ताकालागि पहल गरिदिन लिखित आग्रह गर्नु भएको छ ।

नेकपा–माओबादीले बाबुबाजेको पालादेखि कमाउदै आएको जग्गा खोसेर आफु समर्थक किसानहरुलाई दिएको तथा आफ्ना समर्थकले अपराध, अराजक वा जे काम गरेपनि सर्मथन गर्ने प्रबृत्ति देखाएको बस्नेतले जारी गर्नुभएको बिज्ञाप्तीमा उल्लेख छ ।

बस्नेतले नापजाँचकाक्रममा सो जग्गा ऐलानी भएको पुष्टि भए भोगचलन छाड्ने बताउनु भएको छ ।

नेकपा–माओबादीले जग्गा कव्जा गरी डुम्रेधारापानी–५ का किसान तुलबहादुर मगर, डिल्लीराम मगर, डुम्रेधारापानी–९ का सिताराम बस्नेत, रामबहादुर बिश्वकर्मा र डुम्रेधारापानी–७ का रत्नबहादुर पौड्याललाई सुम्पिएको बस्नेतले बताउनु भयो ।

नेकपा–माओबादीले भने चन्द्रसिंले किसानहरुको जग्गा हडपेकाले जग्गा खोसेर पुःन किसानहरुलाई नै फिर्ता दिएको दाबी गरेको छ । किसानहरुले २०५८ सालमा रावा खोलाको ऐलानी जग्गाको ढाँड र बगर पन्छाएर बनाएको खेतमा बस्नेतले हैकम जमाएकाले कव्जा गरी किसानलाई अधिकार दिलाएको नेकपा–माओबादी खोटाङका बिषेश एरिया सेक्रेटरी झमप्रसाद आचार्यले बताउनु भयो ।

यसैबीच, जग्गा कव्जा र फिर्ताको बिषयलाई लिएर नेकपा–माओवादीका कार्यकर्ताले बारम्बार धम्की तथा मानसिक तनाव दिने गरेका कारण गाउँमा निर्धक्क बस्ने वाताबरण नभएको बस्नेतको गुनासो छ ।

उहाँले कब्जा जग्गा फिर्ता गर्दै सुरक्षित र निर्भिकताकासाथ बस्ने वाताबरण मिलाइदिन सबैसमक्ष आग्रह गर्नु भएको छ ।