भदौ–२१, जिल्ला खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ खोटाङले विद्यालय सरसफाईका लागि नागरिक आवाज कार्यक्रम संचालन गरिरहेको छ । 
विद्यालय सरसफाईकालागि नागरिक आवाज कार्यक्रम वाटर एडको आर्थिक सहयोगमा खोटाङ जिल्लाको ५१ वटा विद्यालयमा कार्यक्रम संचालन भईरहेको नागरिक आवाज कार्यक्रमका संयोजक पेम्बा तामाङले जानकारी दिनुभएको छ । 
कार्यक्रममा ५१ वटै विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसंग सरसफाईसँग सम्बन्धि छलफल सकिएको छ । खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति खोटाङको छनौटको आधारमा छानिएका ५१ वटा विद्यालयमा गएर छलफल तथा अन्तरक्रिया कार्यक्रम आगामी फागुन महिनासम्म चल्ने छ । 
नागरिक आवाज कार्यक्रम अन्र्तगत विद्यालयमा गएर विद्यालय सरसफाईको समिक्षा, सुधारको योजना, २०७३ सम्ममा नेपाललाई खुल्ला दिशामुक्त बनाउने अभियानका बारेमा छलफल तथा अन्तरक्रिया भईरहेका छन् । कार्यक्रमको अन्त्यमा ५१ वटा विद्यालयहरु मध्येबाट कार्य सम्पादनको आधारमा एउटा उत्कृष्ट विद्यालयलाई कार्यक्रमको तर्फबाट एक लाख ८५ हजार रुपैया रकम पनि प्रदान गरिने कार्यक्रम संयोजक तामाङले बताउनुभएको छ । 
कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष धनप्रसाद गिरि, सचिव कृष्ण गुरुङ,  नागरिक आवाज कार्यक्रमका संयोजक पेम्बा तामाङ तथा सहजकर्ता विधान थापाले सहजीकरण गरिरहनुभएको छ ।