असोज-५, केटाकेटीले खेलाएको आगोबाट सल्किएको आगोले खोटाङमा एक घर जलेर नष्ट भएको छ ।
बालबालिकाले खेलाएको आगोबाट सल्किएको आगोका कारण लिकुवापोखरी १ का दिपक राईको घरमा शनिबार आगलागी भएको हो ।
आगलागीबाट घर तथा घरमा राखिएका अन्नपात, मालमत्ता, लुगाफाटा, सोलार सेट लगायतका सामान जल्दा दुई लाख ५० हजार बराबरको धनमाल नष्ट भएको प्रहरीको अनुमान छ ।
आगोले घर नष्ट भएपछि राईका श्रीमती र नौ महिने बच्चा सहित चार जनाको परिवारको बिचल्नी भएको स्थानीय शिक्षीका प्रमिला राईले जानकारी दिनु भयो ।  उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।
दिपक भने रोजगारीका सिलसिलामा ७ महिनादेखि कतारमा छन् । आगलागीबाट बिचल्नीमा परेका राई परिवारलाई छाप्रो बनाएर, अन्नपात दिएर सहयोग गर्ने तयारी भएको छिमेकीहरुले बताएका छन् ।