असोज १४ – खोटाङबासीले जिल्लाका तीन बिमानस्थलमा उडान थप गर्न माग गरेका छन् ।
खोटाङ सेवा समाज काठ्माडौंको अगुवाईमा आइतबार गएको जिल्लाबासीको डेलीगेसन टोलीले नेपाल एयरलाईन्स र तारा एयरलाईन्स समक्ष उडान थप गर्न माग गरेका हुन् ।

डेलीगेसनमार्फत जिल्लाको दुबै एयरलाईन्सलाई लामीडाँडा, खानीडाँडा र थामखर्क बिमानस्थलमा उडान थप गर्न माग गरिएको खोटाङ सेवा समाजका महासचिव बाजिन्द्र बिष्टले जानकारी दिनु भयो । नेपाल एयरलाईन्सले लामीडाँडामा हप्ताको दुई वटा र ताराले एउटा उडान भर्दै आएको छ । यसअघि थामखर्क र खानीडाँडामा पनि उडान भर्दै आएको नेपाल एयरलाईन्सले गत चैत्र यता दुबै बिमानस्थलमा उडान भरेका छैनन् ।

नेपाल एयरलाईन्सका मेनेजर दिलबहादुर श्रेष्ठले उडान थप गर्नुको सट्टा बिमान मर्मत नगरेसम्म अव लामीडाँडामा समेत उडान नगर्ने जवाफ दिएको समाजले जनाएको छ । यस्तै, लामीडाँडामा हप्ताको एउटा सेड्यूल उडान भर्दै आएको तारा एयरलाइन्सले भने जिल्लाबासीको आग्रह अनुशार लामीडाँडामा एउटा उडान थप गर्ने आश्वसन दिएको छ ।

तारा एयरलाईन्सका डाइरेक्टर मन्जनी श्रेष्ठले खानीडाँडाको उडान कटौती गरेर लामीडाँडामा लैजाने बताउनु भयो । बिमानस्थलको खराब अवस्था देखाउँदै ताराले खानीडाँडा बिमानस्थलमा चैत्र यता उडान बन्द गरेको छ । टोलीले जिल्लाका यात्रुको टिकट ब्ल्याकमा बिक्री हुने व्यवस्था हटाउन माग गरेको छ । यस्तै, आपतकालिन अवस्थामा समाजको आग्रहमा टिकटको व्यवस्था मिलाउन दुबै एयरलाईन्सलाई आग्रह गरेको समाजका अध्यक्ष राकेश राईले बताउनु भयो ।