असोज-१८, केन्द्रीय समितिले अयोग्य व्यक्तिलाई टिकट दिएको भन्दै नेपाली कांग्रेस खोटाङका झन्डै एक दर्जन नेता तथा कार्यकर्ताले सामुहिक राजीनामा दिएका छन् ।
टिकट वितरणप्रति असन्तुष्टी व्यक्त गर्दै पूर्व वन राज्यमन्त्री शिवकुमार बस्नेत, महासमिति सदस्य महेन्द्रकुमार कटवाल, जिल्ला कोषाध्यक्ष देवी राई, जिल्ला सचिव केशव कार्की, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति विष्णुराज राईलगायतले पार्टीबाट राजीनामा दिएका हुन् ।
केन्द्रीय समितिले विष्णुकुमार राई र नरेशकुमार श्रेष्ठलाई टिकट दिएपछि पूर्व वन राज्यमन्त्री बस्नेत, पूर्व पर्यटन राज्यमन्त्री सर्वधन राई, महासमिति सदस्य महेन्द्र कटवाल, २ नम्बर क्षेत्रीय सभापति विष्णुराज राई लगायतले असन्तपुष्टि पोख्दै आएका थिए ।
टिकट वितरणमा चित्त नबुझेपछि आफूहरुले सामुहिक राजीनामा दिएको महासमिति सदस्य कटवालले बताउनुभयो । उहाँका अनुसार जिल्लाको दुबै क्षेत्रमा कांग्रेसको बागी उम्मेदवारी परेको छ । क्षेत्र नं–१ का कांग्रेस उम्मेदवार नरेशकुमार श्रेष्ठको विरुद्ध श्यामकुमार राईले र क्षेत्र नं–२ मा विष्णुकुमार राईको विरुद्ध विष्णुराज राईले उम्मेदवारी दिएका हुन् ।
आफूहरूले बागी उम्मेदवारी दिनु परेको क्षेत्र नं–१ बागी उम्मेदवार श्यामकुमार राईले बताउनुभयो । श्यामकुमार क्षेत्र नं–१ का क्षेत्रीय सचिव हुन् भने विष्णुराज क्षेत्र नं–२ का क्षेत्रीय सभापति हुन् ।