असोज–२२, खोटाङको दक्षिणी गाविस सिम्पानीमा आयोजना गरिएको गाविसस्तरीय भलिबल प्रतियोगितामा मात्तिम गाविसले उपाधि जितेको छ ।

सहिदहरुको सम्झनामा वाईसिएल नेपाल खोटाङ क्षेत्र नम्बर–२ ले आयोजना गरेको गाविसस्तरीय भलिबल प्रतियोगितामा सिम्पानी गाविसलाई हराउदै  मात्तिमले उपाधिमाथि कब्जा जमाएको हो ।
हारसँगै सिम्पानी गाविस दोश्रो, वाप्लुखा गाविस तेश्रो र बोपुङ गाविस सान्त्वना भएका छन् ।

प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने समुहले नगद ५१ हजार एक रुपैया, दोस्रो हुने समुहले ३१ हजार १ रुपैया, तेस्रो समुहले २१ हजार १ रुपैया र सान्त्वना हुने समुहले ११ हजार १ रुपैया सहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ । पाँच दिनसम्म सञ्चालन भएको भलिबल प्रतियोगितामा जिल्लाका २० समूहको सहभागिता रहेको थियो ।

यस्तै, जिल्लास्तरीय खुला एकल नृत्य प्रतियोगितामा सप्तेश्वरकी कामना राई पहिलो, लिच्कीराम्चेकी निशा परियार दोश्रो, सिम्पानीका अनिश परियार तेश्रो र राजापानीकी अस्मिता सुनार सान्त्वना हुनुभएको छ । सिम्पानी बजारमा सम्पन्न भएको नृत्य प्रतियोगितामा १८ जनाले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले नगद १० हजार १ रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्नेले ६ हजार १ रुपैयाँ, तेस्रो स्थान प्राप्त गर्नेले ४ हजार १ रुपैया र सान्त्वना स्थान प्राप्त गर्ने व्यक्तिलाई २ हजार १ रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिका सदस्य मिलन चाहारले जानकारी दिनुभयो ।