कात्तिक ११ ।  वर्षादको समयमा परेको भारी वर्षाका कारण अवरुद्ध दिक्तेल–हलेसी सडक खण्डको मर्मत कार्य शुरु गरिएको छ ।

वर्षाको भलबाढीले खाल्डाखुल्डी पार्नुका साथै सडक भत्किएपछि अवरुद्ध मध्ये पहाडी लोकमार्ग अन्र्तगत दिक्तेल–हलेसी सडक खण्ड मर्मत कार्य थालिएको हो ।

वर्षाका कारण पाँच महिनादेखि अवरुद्ध सडक खण्डको सदरमुकाम दिक्तेलस्थित जिरो प्वाइन्टदेखि मर्मत कार्य थालिएको यातायात व्यवसायी संघ खोटाङका अध्यक्ष विदुर लुईटेलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको विशेष पहलमा सडक विभागले आर्थिक सहयोग गरेपछि ४२ किलो मिटर लामो उक्त सडक खण्ड मर्मत कार्य थालिएको अध्यक्ष लुईटेलले जानकारी दिनुभयो ।

तराईसँग सिधा यातायात सेवा जोडिएको उक्त सडक खण्डमा यातायातका सवारी साधन आवत–जावतमा अवरुद्ध भएसँगै सर्वसाधारणमा पर्न जाने असरलाई मध्यनजर गर्दै स्थानीय उद्योगीव्यापारी तथा यातायात व्यवसायीको अनुरोधमा सडक मर्मत कार्य थालिएको उद्योग वाणिज्य सघ खोटाङका अध्यक्ष खुसनारायण सैंजूले बताउनुभयो ।

सडक अवरुद्ध भएपछि सदरमुकाम दिक्तेल आवत–जावत गर्न अफ्ठयारो भएपछि यात्रु तथा उपभोक्ताहरुलाई प्रत्यक्ष मार परेकाले नियमित यातायात सेवा सञ्चालनका लागि सडक मर्मत कार्यलाई पहिलो प्राथामिकता दिइएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो । जिल्लामा सडक अवरुद्ध भएसँगै दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न तथा यात्रुहरुलाई आवत–जावत गर्न समस्या परेकाले अवरुद्ध सडक सञ्चालनका लागि पहल गरिएको प्रजिअ नेपालको भनाइ छ ।

सडक अवरुद्ध भएपछि जयरामघाटदेखि सदरमुकाम दिक्तेलसम्म आउने तथा बाहिर जाने यात्रुहरुले दुई घण्टासम्म हिँड्नुपर्ने बाध्यता छ । सडक मर्मतसँगै अब त्यो समस्याको हल हुने खोटाङ यातायात व्यवसायी संघले जनाएको छ ।