कात्तिक । खोटाङका ठूला राजनीतिक दलका कार्यकर्ताहरुले निर्वाचन आचारसंहिता उलङ्घन गरेर चुनावी प्रचार–प्रसार गरिरहेका छन् । उनीहरुले आचारसंहिता विपरित सार्वजनिकस्थलमा पर्चापम्प्लेट टाँस्नुका साथै चुनाव चिन्हसहितको टिसर्ट बितरण गरेर चुनावी प्रचार गरिरहेका छन् ।

यति मात्र नभई यातायातका सवारी साधनमा चुनाव चिन्हसहितको झन्डा राखेर हिँडिरहेका छन् । यसमा मोटरसाईकलदेखि ट्याक्टरसम्मका सवारी साधन प्रयोग गरिएको छ ।

यसरी आचारसंहिता विपरित चुनावी प्रचार–प्रसारमा लाग्नेमा नेपाली काग्रेस र नेकपा एमालेका कार्यकर्ताहरु अग्र स्थानमा रहेका छन् । एकीकृत नेकपा माओवादी तथा अन्य साना दलका कार्यकर्ताहरुले भने, ती दुई दलका तुलनामा कमै ठाउँमा पम्प्लेट टाँसेका छन् ।

यता, आचारसंहिता विपरित प्रचार–प्रसार गरिएको भएपनि कसैबाट उजुरी नआएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यालयमा लिखित उजुरी नआएपनि उनीहरुलाई खबरदारी गराई सकेका छौं ।’ उहाँले थप्नुभयो, ‘आफूहरुको सुझावलाई अटेर गरेमा आयोगले कडा कारबाहीको प्रक्रिया अगाडी बढाउँछ ।’

उता, ठूला दलको मिलेमतोमा यस्तो क्रियाकलाप भएको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा सगरमाथा ईन्चार्ज कुलप्रसाद सर्मा फुयाँलले बताउनुभयो । खोटाङ क्षेत्र नम्बर–२ का उम्मेदवार समेत रहेका फुयाँलले यसमा निर्वाचन आयोग तथा अनुगमनकर्ताहरु निस्कृय रहेका छन् । उहाँले भन्नुभयो, ‘यसले गर्दा निस्पक्ष चुनाव हुन्छ भन्नेमा कुनै आधार रहेन ।’

जिल्लाका अन्य दलहरुले भने, आफूहरु आचारसंहितालाई पूर्णरुपमा पालना गरेको बताएका छन् । जिल्लामा साना ठूलागरी एक दर्जन दलले आफ्नो उम्मेदवारी दिएका छन् । उनीहरु आ–आफ्नो कार्यक्रम लिएर गाउँ–गाउँमा चुनावी प्रचार–प्रसार गरिरहेका छन् ।