कात्तिक१८ । दीपावली गर्ने क्रममा घर जल्दा खोटाङमा करिब २० लाख बराबरको क्षति भएको छ । लफ्याङ–९ का कुलबहादुर कटवालको घर जल्दा करिब २० लाख बराबरको धनमाल जलेर नष्ट भएको हो ।

लक्ष्मीपूजाका दिन दीपावली गर्नेक्रममा मैनबत्तीबाट सल्किएको आगोले कर्कटपाताको छाना भएको तीन तले घर, घरमा भएको ७० हजार नगद, चार तोला सुन, एक थान ल्यापटप, एक सेट टेलिभिजन, अन्नपात, लत्ताकपडा, घर बनाउन राखिएको करिब चार लाख बराबरको काठपात, २० थान कोरियन कम्मल, दुवाईका लागि भिषासहितको पासपोर्ट र प्लेन टिकेटलगायत जल्दा २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो ।

साँझ सात बजेतिर एक्कासी बीचतलाबाट सल्किएको आगो स्थानीयबासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा करिब तीन घण्टापछि नियन्त्रण आएको निरीक्षक रेग्मीको भनाइ छ ।

६ जनाको परिवार रहेको पीडित कुलबहादुरको परिवार निजको माहिलो भाइ जीतबहादुरको घरमा आश्रय लिएर बसिरहेका स्थानीय ललिता कटवालले बताउनुभयो । कुलबहादुरको घर एकान्तमा भएकाले अन्य घरमा भने, क्षति नभएको ललिताको भनाइ छ ।

घर तथा घरमा भएको धनमाल जलेर नष्ट भएपछि तिहारमा माईती पुज्न आएकी चेलीको समेत बिचल्ली भएको कुलबहादुरका कान्छा छोरा ध्रुबराम कटवालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो त बिचल्ली भयो–भयो, वर्ष दिनमा आउने तिहारमा माईती पुज्न आएकी बहिनीको समेत बिचल्ली भयो ।’ उहाँले थन्नुभयो, ‘हामी दिपावली गरेर खाना खान गएका थियौं, एक्कासी पुरै घर जलिरहेको रहेछ ।’