कात्तिक–२३, संविधानसभाको दोश्रो निर्वाचनमा आफूहरु भन्दा तल्लो तहका कर्मचारीलाई मतदान अधिकृत बनाएको भन्दै जिल्ला कृषि विकास कार्यालय खोटाङका कर्मचारीहरुले असन्तुष्टी व्यक्त गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा डेलिगेशन गएका छन् । राजपत्र अनंङ्कित प्रथम श्रेणीको कर्मचारीहरुलाई द्धितीय श्रेणीको कर्मचारीको अण्डरमा खटाएको, खरिदार सरहका कर्मचारीहरुलाई मतदान अधिकृतको जिम्मेवारी दिएर प्रथम श्रेणीका कर्मचारीहरुलाई वैकल्पीकमा राखेको भन्दै कर्मचारीको टोली डेलिगेशन गएका हुन् । 
उनीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी छनौट गर्दा पक्षपात गरेको आरोप लगाएका छन् । जिल्ला कृषि विकास कार्यालयका कर्मचारी उमेश्वर झाको नेतृत्वमा गएको डेलिगशसन टोलीले मुख्य निर्वाचन अधिकृतलाई भेटी कर्मचारी छनौट प्रक्रिया पारदर्शी नभएको बताएका छन् । भेटमा मुख्य निर्वाचन अधिकृत इश्वरीप्रसाद गौतमले कमजोरी स्वीकारेको र छनौट गरिएको नामावली सच्याउन नसकिने बताएको डेलिगेशन टोलीमा सहभागी जिल्ला कृषि विकास कार्यालय खोटाङका कर्मचारी रामभक्त अधिकारीले बताउनुभयो । 
उता, आफूहरुले निष्पक्षरुपमा कर्मचारी छनौट गरेको मुख्य निर्वाचन अधिकृत इश्वरीप्रसाद गौतमले दावी गर्नुभएको छ । उहाँले भन्नुभयो, “कार्यालयले पठाएको विवरणको आधारमा आफूहरुले छनौट गरेका हौं ।”
मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीहरुको नामावली मागेपछि जिल्ला कृषि विकास कार्यालयले आफ्नो कार्यालयको मातहतमा रहेका कृषि सेवा केन्द्रका कर्मचारी सहित २४ जना रा.प.अ. प्रथम श्रेणीका कर्मचारीहरुको नामावली पठाएकोमा १ जनालाई मात्र मतदान अधिकृत बनाएको उनीहरुको आरोप छ । बाँकी रहेका २३ जनामध्ये १० जनालाई जगेडा (वैकल्पीक) मा राखेको र बाँकी १३ जनालाई सहायक मतदान अधिकृत बनाएर आफूहरुलाई अपहेलना गरेको उनीहरुको गुनासो छ । 
निर्वाचन सम्वन्धि ऐनमा निजामती कर्मचारीहरुलाई प्राथमिकतामा राख्नुपर्ने र निजामती कर्मचारी अपुग भएमा नेपाल सरकारको स्वामित्वमा रहेका संघसंस्थाहरु, शैक्षिक संस्था र अन्य कर्मचारीहरुलाई राख्नुपर्ने व्यवस्थाको विरुद्ध कर्मचारी छनौटमा शिक्षकहरुलाई बढी प्राथमिकता दिइएको उनीहरुले आरोप लगाएका छन् । कर्मचारीहरुले जिल्लाको विकट ठाउँबाट आएका कर्मचारीहरुलाई वैकल्पीकमा राखेको र करारका कर्मचारीहरुलाई समेत मतदान अधिकृत बनाएको बताएका छन् ।
                                    ।।