कात्तिक २९, जिल्लामा चुनावी रौनक तातिएको छ । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, संघीय समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, नेकपा मालेलगायत दलका नेता तथा कार्यकर्ताहरु गाउँगाउँमा पुगेर चुनावी प्रचारलाई तिब्र पारेका छन् ।
चुनावीसभा र पर्चा पोष्टरले जिल्लादेखि गाउँ झलमल भएको छ । एमाओवादी उम्मेदवार तथा नेता–कार्यकर्ता जिल्लाको दुवै क्षेत्रमा मतदातालाई रिझाउन चुनावीसभा तथा घरदैलोमा व्यस्त छन् ।
क्षेत्र नं–१ मा एमाओवादीकी उम्मेदवार दुर्गाजयन्ती राइर्, पूर्व सभासद रामकुमार राईलगायतका नेता–कार्यकर्ता घरदैलोमा छन् भने, क्षेत्र नं–२ मा एमाओवादीका उम्मेदवार देवान राई ‘पृथ्वी’, पूर्वसभासद समिता कार्की ‘अस्मिता’लगायतका नेता–कार्यकर्ता घरदैलोमा जुटेका छन् ।
यसबाहेक हरेक इलाका इन्चार्जहरूको नेतृत्वमा इलाका–इलाकामा चुनावी कार्यक्रम भइरहेको एमाओवादी कार्यालय सचिव सुरेश राईले बताउनुभयो । एमाओवादीले प्रत्यक गाविसमा चुनावीसभा सम्पन्न गरेर घरदैलो कार्यक्रममा जुटेको हो ।
कांग्रेस उम्मेदवार तथा नेता–कार्यकर्ता पनि चुनावी प्रचारमा गाउँगाउँ पुगेका छन् । क्षेत्र नं–१ का कांग्रेस उम्मेदवार नरेशकुमार श्रेष्ठ, समानुपातिक उम्मेदारद्धय सरस्वती बजिमय, दिनेश राईलगायत नेता कार्यकर्ताले चुनावी सभासँगै घरदैलो अभियान सञ्चालन गरिरहेका छन् ।
क्षेत्र नं–२ का कांग्रेस उम्मेदवार विष्णुकुमार राई र जिल्ला संगठन विभाग प्रमुख भुपेन्द्र राईको छुट्टाछुट्टै टोली बनाएर गाविस तथा इलाकास्तरीय चुनावीसभा गर्दै जनताको घरदैलोमा पुगिरहेका छन् ।
एमाले उम्मेदवार तथा नेता–कार्यकर्ता पनि चुनावी अभियानमा गाउँ गाउँमा पुगेका छन्् । क्षेत्र नं–१ का एमाले उम्मेदवार पाँचकर्ण राई र क्षेत्र नं–२ का एमाले उम्मेदवार विशाल भट्टराई नेता–कार्यकर्ता साथमा चुनावीसभा लिएर गाउँ गाउँमा पुगेका छन् । जुनसुकै गाविसमा पनि उत्साह जनक उपस्थितिले एमालेको ‘माहौल राम्रो देखिएको एमाले खोटाङले जनाएको छ ।
संघीय समाजवादी पार्टीले पनि चुनावी अभियान तताएको छ । उसले दुवै क्षेत्रमा चुनावी अभियान तिब्र पारेको छ । 
जिल्लाका एमाओवादी, कांग्रेस र एमाले तीनै दलबाट पार्टी छाडेका कायकर्ताहरू संगठित संघीय समाजवादी पार्टीले पनि गाउँमा चुनावी माहौल तताएको छ । क्षेत्र नं–१ मा संघीय समाजवादीका उम्मेदवार देवराज राई तथा क्षेत्र नम्बर २ मा उम्मेदवार सनबहादुर राई लगायतका नेता कार्यकर्ता चुनावी अभियानमा जुटिरहेका छन् ।
जिल्लामा नेपाल कम्युनिष्ट पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, नेकपा मालेलगायत दलका उम्मेदवार तथा नेता कार्यकर्ताहरुको प्रचार प्रसार उत्तिकै छ । सबै दल चुनावी मैदानमा देखिएपनि तीन ठूला दल प्रतिष्पर्धी देखिएका छन् ।
एमाओवादीले आफ्नो प्रतिष्पर्धी कांग्रेस ठानेको छ भने, कांग्रेसले क्षेत्र नम्बर १ मा एमाओवादी र क्षेत्र नम्बर २ मा एमालेलाई प्रतिष्पर्धीको सूचिमा राखेको छ । एमालेले भने, कांग्रेसलाई प्रतिष्पर्धी देखेको छ । 
एमाओवादीले जित आफ्नो पोल्टोमा पार्ने सपना सजाएको छ । कांग्रेसले अघिल्लो संविधानसभाको चुनावमा आफूलाई हराउने एकीकृत माओवादी पहिलो प्रतिष्पर्धीको रुपमा निसाना बनाएको छ । एमालेले भने, एमाओवादीको फुट, एमाओवादी नेता–कार्यकर्ताको निष्कृयता, वाइसीयल विघटन, फोटो सहितको मतदाता नामावली लगायतले एमाओवादीको भोट घट्ने अड्कल गर्दै कांग्रेस नै पहिलो प्रतिष्पर्धी मानेको छ । 
जिल्लाका विष्लेशकहरुका अनुसार यस चुनावमा क्षेत्र नम्बर १ मा एमाओवादी उम्मेदवार दुर्गाजयन्ती राई र कांग्रेस उम्मेदवार नरेशकुमार श्रेष्ठ तथा क्षेत्र नम्बर २ मा एमाओवादी उम्मेदवार देवान राई ‘पृथ्वी’, कांग्रेस उम्मेदवार विष्णुकुमार राई र एमाले उम्मेदवार विशाल भट्टरार्इृकाबीच कडा प्रतिष्प्रर्धा हुने बताएका छन् । 
अघिल्लो निर्वाचनमा क्षेत्र नं–१ बाट एमाओवादीका रामकुमार राईले १६ हजार ६ सय ८७, कांग्रेसका सुवाश पोखरेलले नौ हजार २९, एमालेका पाँचकर्ण ‘पिके’ राईले आठ हजार सात सय ९३ मत ल्याएका थिए ।
क्षेत्र न–२ मा एमाओवादीकी समिता कार्की ‘अस्मिता’ले १८ हजार एक सय ६८, एमालेका विशाल भट्टराईले दश हजार ६ सय ८१ र कांग्रेसका शिव बस्नेतले नौ हजार एक सय दुई मत प्राप्त गरेका थिए । त्यतिखेर जिल्लाको कुल मतदाता एक लाख ८२ हजार सात सय ९४ मध्ये ९० हजार एक सय दुई मत खसेको थियो ।
यसपटक ९९ हजार ६ सय ६२ जना मतदाता छन् । जिल्लामा संघीय समाजवादी पार्टीले चौथो शक्ति बन्ने देखिएको छ । वैद्य पक्षले चुनाव विथोल्ने केन्द्रीय निर्देशन पालना गर्दै बिरोधका कार्यक्रमहरु जारी राखेको छ ।