कात्तिक २९, खोटाङमा नेकपा–माओवादीका किरात राज्य समिति सदस्य सहित आधा दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 
आगामी मंसिर–४ गते हुने संविधानसभाको दोश्रो निर्वाचनको विरोध गर्दै आएका माओवादीका ६ जना कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा किरात राज्य समिति सदस्य तथा जिल्ला सहसेक्रेटरी देवी रिजाल, जिल्ला सचिवालय सदस्य तथा इलाका नम्बर–६ का ईन्चार्ज सूर्यधन तामाङ, जिल्ला कमिटि सदस्य तथा खाल्ले गाउँ कमिटिका ईन्चार्ज प्रवचन राई, जिल्ला सदस्य तथा लफ्याङ गाउँ कमिटिका सेक्रेटरी प्रेम कटवाल, जिल्ला सचिवालय सदस्य टीकाराम राई र युवा संगठनका जिल्ला अध्यक्ष राजेन्द्र राई रहेका छन् । 
उनीहरूलाई निर्वाचनसम्म राखिने सुरक्षा स्रोतले जनाएको छ ।
श्रोतका अनुसार केहीलाई सार्वजनिक अपराध ऐन अनुसार मुद्दा चलाइएको बुझिएको छ । यसबारे प्रशासनले भने, केही बताउन चाहेको छैन ।
उता, आफूहरुको शान्तिपूर्ण आन्दोलनमा खिलाराज रेग्मी सरकारले हस्तक्षेप गरेर मूलुकलाई द्वन्द्वतर्फ धकेलेको जिल्ला ईन्चार्ज ध्रुव बुढाथोकी ‘धिरेन’ले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘गिरफ्तारमा परेका आफ्ना कार्यकर्ताहरुलाई बिना कारबाही नछाडिए कडा आन्दोलन गर्नेछौं ।’ उहाँले थप्नुभयो, ‘निर्वाचनको बहिस्कार गर्नु आफूहरुको नैसर्गिक अधिकार हो, यसमा सरकारले हस्तक्षेप गरेर कडा आन्दोलन गर्न बाध्य तुल्याइरहेको छ ।’