मंसिर–१०, संविधानसभाको दोश्रो निर्वाचन अन्तरगत समानुपातिक तर्फ पनि खोटाङमा एमालेले नै बढी मत आएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लाको प्रत्यक्ष निर्वाचनमा दुवै क्षेत्र विजय हासिल गरेको एमालेले समानुपातिकतर्फ पनि पहिलो मत प्राप्त गरेको हो । 
क्षेत्र नम्बर–१ बाट नेकपा एमालेले ३० प्रतिशत अर्थात १० हजार ७ सय २९ र क्षेत्र नम्बर–२ बाट ३६ प्रतिशत अर्थात १२ हजार ५ सय ७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद गौतमले जानकारी दिनुभयो । प्रत्यक्षमा जस्तै समानुपातिकमा पनि दोश्रो र तेश्रो मत क्रमशः कांग्रेस र एमाओवादीले लिएको छ । 
क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसले ९ हजार ८ सय २४ (२७ प्रतिशत) र एमाओवादीले ६ हजार ५ सय ४१ (१८ दशमलव ४७ प्रतिशत ) मत ल्याएको छ । क्षेत्र नम्बर–२ मा कांग्रेसले ९ हजार १ सय ६४ (२६ दशमलव २३ प्रतिशत ) र एमाओवादीले ५ हजार ७ सय ९ (१६ दशमलव ३६ प्रतिशत) मत प्राप्त गरी दोश्रो र तेश्रो स्थानमै कायम गौतमको भनाइ छ । 
प्रत्यक्ष निर्वाचनमा क्षेत्र नम्बर– १ बाट एमालेको पाँचकर्ण राई (पीके) ले १० हजार ८ सय २४ मत तथा क्षेत्र नम्बर–२ बाट विशाल भट्टराईले १४ हजार ३७ मत प्राप्त गर्दै विजयी बन्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार नरेशकुमार श्रेष्ठले ९ हजार ८ सय ४१ मत ल्याउदै पीके राईको निकटतम प्रतिस्पर्धी बन्नुभएको थियो भने, नेपाली कांगे्रसकै अर्का उम्मेदवार तथा जिल्ला सभापति विष्णुकुमार राईले ९ हजार ६ सय ८० मत ल्याउदै भटराईको प्रतिस्पर्धी बन्नुभएको थियो । 
जिल्लामा १२ वटा दल चुनावी मैदानमा उत्रिएका थिए । साना ठूलागरी १२ दलका २४ जना उम्मेदवार प्रत्यक्षमा लडेका थिए भने, उत्तिकै संख्यामा समानुपातिक उम्मेदवार बनेका छन् ।
मत परिणाम अनुसार संघीय समाजवादी पार्टी चौथो शक्तिका रुपमा खडा भएको छ । संघीय समाजवादी पार्टीका अध्यक्ष असोक राईको गृह जिल्लामा समेत उक्त पार्टी चौथो मात्र भएको हो ।