मंसिर–१८, खोटाङमा आगामी मंसिर २९ र ३० गते बृहत कृषि मेलाको आयोजना गरिने भएको छ । जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्धेश्यले कृषि दिवसको अवसरमा बृहत कृषि मेलाको आयोजना गर्न लागिएको हो ।
जिल्लाका बिभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एबं प्रतिष्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई पुरस्कृत र प्रोत्साहित गर्नकालागि कृषि मेला प्रदर्शनीको आयोजना गरिएको कृषि बिकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत बालगोविन्द पाठकले बताउनुभयो ।
दुई दिने कृषि मेला प्रदर्शनीमा विभिन्न प्रजातिका खाद्यबाली समुह, फलफुल समुह, तरकारी समुह, सागपात समुह, दलहन तथा तेलहन समुह, आलु समुह, मसला समुह, माछा, अलैची, उखु लगायत स्थानीय रैथाने जातका कृषि स्टल राखिने बरिष्ठ कृषि विकास अधिकृत पाठकको भनाइ छ । कृषि व्यवसायको सम्मान र प्रोत्साहनकालागि जिल्लामा बिगत ६ वर्षअघिदेखि कृषि दिवसको अवशरमा प्रतियोगीतात्मक कृषि मेलाको आयोजना गरिदै आइएको छ ।
कृषि विकास कार्यालयको हलमा बसेको बैठकले कर्मचारी मिलन केन्द्रको प्रांगणमा मेलाको आयोजना गर्ने निर्णय गरेको छ । कृषि मेलाको आयोजनाकालागि बरिष्ठ कृषि बिकास अधिकृत पाठकको संयोजकत्वमा ९ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
बृहत कृषि मेला प्रदर्शनी एबं कृषि दिवसको अवशरमा अघिल्लो वर्षजस्तै जिल्लाका उत्कृष्ट पाँच कृषकलाई प्रतिव्यक्ति पाँच हजारका दरले पुरस्कृत गर्ने तय गरिएको छ । यस्तै, कृषि प्रदर्शनीमा बिभिन्न बाली समुहमा पहिलो, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त गर्ने कृषकलाई पनि पुरस्कृत गरिने कृषि विकास कार्यालयले जनाएको छ ।
कृषि मेला प्रदर्शनीमा सहभागीताकालागि ६ कोषभन्दा टाढाबाट आउने कृषकलाई खानाको व्यवस्था मिलाइएको आयोजकको भनाइ छ । जिल्ला विकास समिति, कृषि विकास कार्यालय लगायत एक दर्जन गैर–सरकारी संघसंस्थाहरुको संयुक्त आयोजनामा हुने कृषि मेलाको मिडिया पार्टनर रुपाकोट रेडियो रहेको छ ।