मंसिर–२०, खोटाङमा आमाबिहिन पाँच छात्रालाई पुरस्कृत गरिएको छ । लफ्याङस्थित श्रीमावि बाँसबोटेको ५३ औं वार्षिकोत्सवको अवसरमा उनीहरुलाई पुरस्कृत गरिएको हो । 
कक्षा–१० की मनिषा श्रेष्ठ, कक्षा–८ की लगनशीला राई, कक्षा–७ की सामना राई र लतिका राई तथा कक्षा–६ की रिना राईलाई पुरस्कृत गरिएको हो । आमा गुमाएपनि नियमित विद्यालयमा आउने छात्रालाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको शिक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । 
विद्यालयमै स्थापना गरिएको ‘स्वर्गीय मनमायाँ राई अक्षय कोष’को रकमबाट विद्यालयका छात्रालाई आवश्यक शैक्षिक सामग्रीका साथमा प्रशंसापत्र प्रदान गरिएको छ । यस्तै, उत्कृष्ट अंक ल्याएर २०६९ सालको एसएलसि परीक्षा उत्तिर्ण गर्ने छात्रा भूमीका राईलाई पनि पुरस्कृत गरिएको छ । 
वार्षिकोत्सवको अवसरमा मनोमायाँ राई र सेरेलुङ हँछा अक्षय कोषले विद्यालयलाई ६÷६ हजार रकम हस्तान्तरण गरेको छ । यस्तै, दैवप्रसाद तुलसा अक्षय कोषले विद्यालयलाई ३ हजार प्रदान गरेको छ । विद्यालयको सरस्वति मन्दिरमा राखिने मूर्ति खरिद गर्नका लागि तीन वटै अक्षय कोषले विद्यालयलाई नगद सहयोग गरेको हो ।