मंसिर–२८, जिल्लाका पाँच सरकारी कार्यालयलाई सेवा प्रवाहमा सुधार गर्न खोटाङका सेवाग्राहीले सुझाव दिएका छन् । स्थानीय जनसेवा समाज नेपाल जालपा र प्राण सेसीको साझेदारीमा सञ्चालित ‘नागरिक प्रतिवेदन पत्रमार्फत सामाजिक जवाफदेहिता अभिवृद्धि परियोजना’ले जिल्ला प्रशासन, मालपोत, स्वास्थ्य, कृषि विकास र पशु स्वास्थ्य सेवा कार्यालयलाई सेवा प्रवाहमा सुधार गर्न सेवाग्राहीले सुझाव दिएको हो । 
सेवामा सबैको सहज पहुँच बिस्तार गर्नका लागि सेवा लिन आएका ३ प्रतिशत सेवाग्राहीले प्रशासनको र ७ प्रतिशत सेवाग्राहीले मालपोत कार्यालयको सेवा प्रवाह गर्ने प्रणालीमा सुधार गर्नुपर्ने सुझाव दिएको परियोजनाका जिल्ला संयोजक हेमबहादुर विश्वकर्माले जानकारी दिनुभयो । यस्तै, ९ प्रतिशत सेवाग्राहीले स्वास्थ्य, २५ प्रतिशतले कृषि तथा ५ प्रतिशत सेवाग्राहीले पशुसेवा कार्यालयको सेवा प्रणालीमा सुधार ल्याउन सुझाव दिएको परियोजनाले जनाएको छ । 
परियोजनाले सार्वजनिक गरेको तथ्यांक अनुसार स्वास्थ्य कार्यालयको सेवाप्रति १ प्रतिशत, कृषि कार्यालयको सेवाप्रति ४ प्रतिशत र पशुसेवा कार्यालयको सेवाप्रति ४ प्रतिशत सेवाग्राही असन्तृष्ट देखिएका छन् । सेवा लिन असहज भएको बताउने केही सेवाग्राही भएपनि जिल्ला प्रशासन कार्यालयबाट ८८ प्रतिशत, मालपोतबाट ८१ प्रतिशत, स्वास्थ्यबाट ७७ प्रतिशत, कृषिबाट ६३ प्रतिशत र पशुसेवा कार्यालयबाट ९२ प्रतिशत सेवाग्राहीले सहजताकासाथ सेवा पाएको बताएको संयोजक विश्वकर्माले बताउनुभयो । जिल्ला विकास समितिको हलमा भएको कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो ।