पुस–३, स्थानीय पेटी ठेकेदारले बेलिब्रीज जडानका काम जिम्मा लिएका कारण खोटाङ र ओखलढुङ्गाको जयरामघाटस्थित दुधकोसी तथा उदयपुर र ओखलढुंगाको घुर्मीस्थित सुनकोशी नदीको बेलिब्रिज जडानमा ढिलाइ भएको छ । कमिसनको लोभमा पेटी ठेकेदारलाई काम जिम्मा लगाइएको कारण गत मंसिर–१५ गतेभित्र जडान गरिसक्नु पर्ने कार्यादेश पाएको अस्थायी बेलिब्रिज अहिलेसम्म जडान हुन नसकेको हो । 
नदीबाट सामान ओसार–पसार गर्ने भरियालाई परिचालन गरेर आम्दानी गर्दै आएका पेटी ठेकेदारको समूहले बेलिब्रीज जडानको काम जिम्मा दिएका कारण समयमा बेलिब्रीज जडानको काम पूरा नभएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खुसनारायण सैंजूले बताउनुभयो । उहाँका अनुसार यसपल्ट उषा निर्माण सेवामार्फत स्थानीय पेटी ठेकेदारले बेलिब्रीज जडानको काम जिम्मा लिएको हो । 
बेलिब्रीज सञ्चालनमा आए भरिया परिचालनबाट आउने कमिसनको श्रोत गुम्ने भएका कारण पेटी ठेकेदारले काममा ढिलाइ गरिरहेको सैंजूले दावी गर्नुभयो । उहाँले भन्नुभयो– ‘भरिया परिचालनबाट आउने आम्दानी नगुमाउनका लागि ती पेटी ठेकेदारले बेलिब्रीज जडानमा आलटाल गरेको हो ।’ 
जयरामस्थित दुधकोशीको बेलिब्रीज तथा हर्कपुरको घुर्मीस्थित सुनकोशी नदीमा फेरी सञ्चालन नहुँदा भरियालाई सामान बोकाएर नदी तार्ने गरिन्छ । व्यवसायीका अनुसार नदीबाट सामान तार्नका लागि तिनै ठेकेदारहरुले ठेक्का लिएर सयौं भरियालाई परिचालन गर्ने गरेका छन् । बेलिब्रीज सञ्चालनमा आए नदीबाट सामान तार्ने पेशा गुमाउनु पर्ने अवस्था आउने भएका कारण उनीहरु काममा आलटाल गरिरहको श्रोतको दावी छ । 
यसपल्ट स्थानीय पेटी ठेकेदारले कामको जिम्मा लिनु र समयमा बेलिब्रीज निर्माण नहुनुको पछाडि स्थानीय पेटी ठेकेदार नै कारण रहेकाले कामको गतिले पुष्टि गरेको अध्यक्ष सैंजूले बताउनुभयो । उहाँले भन्नुभयो,– ‘जो बेलिब्रीज नबनोस् भन्ने पक्षमा छ, उसले बेलिब्रीज बनाउँछ त ?’ 
यसपल्ट ठेकेदारले दुबै बेलिब्रीज मंसिर–१५ गतेभित्र जडान गरिसक्नुपर्ने कार्यादेश पाएको थियो । बेलिब्रीज जडान गर्न र झिक्नकालागि राज्यको करिब करोडको हाराहारीमा खर्च हुनेगरेको छ । सडक विभागका इन्जिनियर विष्णु काफ्लेले भने संविधानसभाको निर्वाचनका कारण समयमा बेलिब्रीज जडान हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो,– ‘चुनावका कारण बेलिब्रीज जडानका अलि ढिला भएको हो ।’ 
ठेकेदार कम्पनी उषा निर्माण सेवाका प्रतिनिधि शिव प्रधानका अनुसार तिहार, निर्वाचन र निर्वाचनको अवधिमा आव्हान गरिएको बन्दका कारण समयमा बेलिब्रीज जडानका काम पूरा गर्न नसकिएको हो । तिहार, निर्वाचन र बन्दका कारण मंसिर–९ गतेदेखि जडानका काम थालिएको बेलिब्रीज पुस–१० गतेसम्ममा सञ्चालनमा आउने प्रधानको भनाइ छ । उहाँले भन्नुभयो– ‘स्थानीय पेटी ठेकेदारका कारण काममा ढिलाई भएको कुरामा कुनै सत्यता छैन ।’ 
समयमा बेलिब्रीज सञ्चालनमा नआउँदा माथिल्लो सगरमाथा अन्तरगत खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका सर्वसाधारण मारमा परेका छन् । बेलिब्रीजको अभावमा तीन जिल्लामा उपभोग्य बस्तुको ढुवानीमा समस्या भएको छ । घुर्मी, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जोड्ने मुख्य नाका हो भने जयरामघाट खोटाङ आउन तथा जानका लागि मुख्य नाका हो । 
बेलिब्रीज सञ्चालनमा नआउँदा तीनवटै जिल्लामा चामल, दाल, नुन, तेल, ग्याँस, चीनी लगायतका उपभोग्यबस्तुको मूल्य पनि वृद्धि भएको छ । बेलिब्रीज सञ्चालनमा आउँदा जिल्ला भित्रिने दैनिक उपभोग्यवस्तुको मूल्य प्रतिकेजी ४ रुपैयाँका दरले घट्ने अध्यक्ष सैंजूले बताउनुभयो ।