पुस–६, खोटाङका सामुदायिक विद्यालयबाट सबैभन्दा बढि अंक ल्याएर एसएलसी उत्तिर्ण गर्ने छात्र/छात्रा पुरस्कृत भएका छन् । २०६९ सालमा सञ्चालन भएको एसएलसी परीक्षामा जिल्लाका सामुदायिक विद्यालयमध्येबाट सर्बोत्कृष्ट अंक ल्याउने सरस्वती उच्च मावि दिक्तेलका छात्रा राजनन्दकुमारी दास र पञ्च मावि दिक्तेलका छात्र बोलराज आचार्यलाई नगद पुरस्कारले पुरस्कृत गरिएको हो । 
जिल्लाका ८४ वटा सामुदायिक विद्यालयमध्ये ८४.५० प्रतिशत अंक ल्याएर एसएलसी उत्तीर्ण गरेकी दास र ८२.८८ प्रतिशत अंक ल्याएर एसएलसी उत्तीर्ण गरेका आचार्यलाई शुक्रबार खोटाङ सेवा समाज दोहा कतारले पुरस्कृत गरेको हो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई उच्च शिक्षा हाँसिल गर्नतर्फ प्रोत्साहित गर्ने उद्देश्यले एसएलसीका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको समाजका महासचिव नारायण बस्नेतले बताउनुभयो ।
एसएलसीका उत्कृष्ट छात्र÷छात्रालाई पञ्च माविमा आयोजना गरिएको कार्यक्रमकाबीच जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले नगद पुरस्कार हस्तान्तरण गरेका छन् । दासलाई नगद ११ हजार र आचार्यलाई ९ हजारकासाथमा प्रमाणपत्र प्रदान गरिएको छ । रोजगारीका सिलसिलामा कतार पुगेका खोटाङका युवाले स्थापना गरेको समाजले २०६६ सालदेखि हरेक वर्ष जिल्लाका सामुदायिक बिद्यालयबाट उत्कृष्ट अंक ल्याउने छात्र/छात्रालाई पुरस्कृत गर्दै आएको छ ।