पुस–८, नेपाल एयरलाइन्सले खोटाङको खानीडाँडा विमानस्थलमा उडान थप गरेको छ । बिराटनगर र काठ्माडौंका लागि हरेक हप्ताको एक–एक दिन उडान भर्दै आएको एयरलाइन्सले आईतबारदेखि लागू हुनेगरी उडान थप गर्दै उडान तालिका समेत परिवर्तन गरेको छ ।

एयरलाइन्सका अनुसार अव हरेक मंगलबार र शनिबार एकैदिन काठ्माडौं–खानीडाँडा–बिराटनटर तथा बिराटनगर–खानीडाँडा–काठ्माडौं उडान शुरु गरिएको खानीडाँडा विमानस्थलका स्टेशन इन्चार्ज यादवसेन राईले जानकारी दिनुभयो । यसअघि नेपाल एयरलाइन्सले हरेक आइतबार बिराटनगर र सोमबारका दिन काठ्माडौंका लागि उडान भर्दै आएको थियो । 
सदरमुकाम दिक्तेल नजिक रहेको उक्त विमानस्थलमा कालोपत्रेको काम पनि भइरहेको छ । हिलाम्मे र धुलाम्मे अवस्थामा सञ्चालन हुँदै आएको विमानस्थल नेपाल नागरिक उड्यन प्राधिकरणको ६ करोड ८० लाखको लगानीमा कालोपत्रेको काम शुरु भएको हो । 
शेर्पा पिल्लर कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको कालोपत्रेको काम आगामी चैत मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गा घिमिरेले जानकारी दिनुभयो । अध्यक्ष घिमिरेका अनुसार उक्त विमानस्थलमा हाल गिटी फुटाउने, गाह्रो लगाउने, भित्ता खार्ने र बालुवा आसार्ने काम भइरहेको छ । 
जिल्लाका तीन विमानस्थलहरुमध्ये सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थल कालोपत्रेपछि प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । खोटाङबासीको आफ्नै पहलमा निर्माण गरिएको खानीडाँडा विमानस्थलमा नेपाल एयरलाईन्स, अग्नि र तारा एयरलाईन्सले उडान भर्दै आएको छ ।