पुस–९, पशुसेवा उपकेन्द्रमा कर्मचारीको व्यवस्था गर्न माग गर्दै खोटाङको उत्तरी गाविस जालपाका स्थानीयबासीले  जिल्ला पशुसेवा केन्द्रमा ज्ञापन–पत्र बुझाएका छन् । पशुसेवा उपकेन्द्रमा दुई वर्षदेखि कर्मचारी नआएको भन्दै उनीहरुले सोमबार पशुसेवा कार्यालय खोटाङ समक्ष तत्काल कर्मचारीको व्यवस्था गर्न माग गर्दै ज्ञापन–पत्र बुझाएका हुन् । 
स्थानीय नवदिप प्रगतीशिल नागरिक सचेतना केन्द्रको नेतृत्वमा सोमबार गएको डेलीगेसन टोलीले बरिष्ठ पशु विकास अधिकृत नारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै पशुसेवा उपकेन्द्रमा कर्मचारीको व्यवस्था गर्न माग गरेका छन् । ज्ञापन–पत्रसहित कार्यालय पुगेका पशुसेवा उपकेन्द्रमा कर्मचारी नहुँदा फैलिएको रोगका कारण लाखौं मूल्य बराबरको पशु तथा चौपाय मरेको र क्षती भएको नागरिक सचेतान केन्द्रका संयोजक समिता राईले गुनासो गर्नुभयो । संयोजक राईले भन्नुभयो, –‘पशु सेवा उपकेन्द्रमा कर्मचारी नहुँदा बिरामी पशुपन्छीले उपचार पाएन, हामीले ठूलो नोक्सान खेप्नु प¥यो, तत्काल कर्मचारीको व्यवस्था गरियोस् ।’ 
पशुसेवा उपकेन्द्रमा कर्मचारी नहुँदा एक वर्षको अवधिमा उपचार नपाएर गाविसमा १३ वटा गोरु, ७ वटा भैंसी, १५ वटा सुँगुर, ६ वटा बाख्रा मरेको स्थानीयबासीको भनाइ छ । उनीहरु भन्छन्, –‘कुखुरा त कति मरे–मरे, त्यसको गन्ती नै छैन ।’
उनीहरुले पशुसेवा उपकेन्द्रमा कर्मचारी नभएको, अपायक ठाउँमा कार्यालय राखिएको, साइनबोर्ड नराखिएको लगायतका गुनासो गरेका छन् । डेलीगेसन टोलीलाई बरिष्ठ पशु विकास अधिकृत नारायण श्रेष्ठले महिना दिनभित्र कर्मचारीको व्यवस्था गर्ने आश्वसन दिनुभएको छ । ‘तपाईहरु ढुक्क हुनुस्,’ बरिष्ठ पशु विकास अधिकृत श्रेष्ठले भन्नुभयो, ‘हामी एक महिनाभित्र कर्मचारीको व्यवस्था गर्नेछौँ ।’ 
पशु सेवा कार्यालयले भने निर्वाचन आसपास बाहेक अन्य समयमा उपकेन्द्रमा कर्मचारी बसेको बताएको छ । उपकेन्द्रमा कार्यरत पशुस्वास्थ्य अधिकृत पुनितलाल राय यादव सरुवा भएको र सो ठाउँमा नयाँ कर्मचारी आउन बाँकी रहेको श्रेष्ठले जानकारी दिनुभयो । डेलीगेसन टोलीले चालुआर्थिक वर्षमा उपकेन्द्रले सञ्चालन गर्ने कार्यक्रमहरुको बारेमा जानकारी लिएका छन् । टोलीमा सामाजिक परिचालक, सचेतना केन्द्रका पदाधिकारी, महिला प्रतिनिधिको सहभागीता रहेको थियो ।