पुस ९– खोटाङको जालपास्थित महिला अधिकार मञ्चले स्थानीय रबि राईको हत्यामा संलग्न अन्य दोषीहरुको पहिचान गरी कारबाही गर्न माग गरेको छ । जन्तीकारुपमा खार्मी पुगेका जालपा–४ का ३३ वर्षीय राईको नियोजित हत्या गरिएको भन्दै स्थानीय महिला अधिकार मञ्चले घटनामा संलग्न थप दोषीहरुको पहिचान गर्न र कानूनी कारबाहीको दायरामा ल्याउनकालागि आग्रह गरेको हो । 
मञ्चकी अध्यक्ष धनशोभा राईले सोमबार विज्ञाप्ती प्रकाशित गरी महिलासँग जोडिएका विषयलाई संवेदनशीलताका साथ सम्प्रेषण गर्नकालागि सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । सत्यतत्यको नजिक नपुगी प्रकाशित÷प्रशारित गरिएको समाचारले ‘पीडितलाई थप पीडा’ दिएको मञ्चले जनाएको छ । 
गत मंसिर २४ गते छिमेकी गाविस खार्मीमा जन्ती गएका बेला निर्घात कुटिएका राईको भोलीपल्ट मृत्यु भएको थियो । राईको खार्मी–५ का ३५ वर्षीय दिलकुमार राई, २३ वर्षीय रामभक्त भनिने जीवन राई, सुदिप राई लगायतको समूहको कुटपिटबाट ज्यान गएको डिएसपी गोबिन्द शाहले बताउनुभयो । घट्नामा संलग्न चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 
एक युवतीलाई करणीको प्रयास गरेको आरोपमा कुटपिट गरी उनको हत्या गरिएको भन्ने शुरुको प्रचार पछिल्लो समयमा गलत सावित हुँदै भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न दोषीहरुले आफ्नो गल्ती ढाकछोप र बचाउकालागि युवालाई झुट्टा आरोप लगाएको खुलासा हुँदै गएको डिएसपी शाहको भनाई छ । साईनोमा माइतीचेली भएका कारण उनीमाथि लगाइएको आरोप गलत भएको पिडितपक्षको भनाई छ । 
यसैबीच, मृतक परिवारले घट्नाका बिषयमा विभिन्न सञ्चार माध्यममा आएको समाचारको खण्डन गरेको छ । पीडित परिवारले विज्ञाप्ती प्रकाशित गरी सत्यतत्यको नजिक नपुगी प्रकाशित÷प्रशारित समाचारले ‘थप पीडा’ दिएको जनाएको छ । ‘समाचारले मृतकका आफन्तको इज्जत र मर्यादामा समेत गम्भीर आघात पु¥याएको छ,’ मृतकका भाई एबी राईले जारी गरेको विज्ञाप्तीमा भनिएको छ, ‘अपुरणीय मानवीय क्षति बेहोर्न बाध्य बनाइएका हामीलाई हाम्रै मर्यादा र सम्मानमा समेत चोट पुगेको छ ।’