पुस–१५, पूर्व गाविस सचिवहरुले बरबुझारथ नगरेका कारण बाम्राङ गाविसको गाउँ परिषद अनिश्चित बनेको छ । पूर्व गाविसहरु ईन्द्र श्रेष्ठ र हरिप्रसाद खतिवडाले बरबुझारथ नगरेका कारण गाउँ परिषद अनिश्चित भएको हो । 
सचिवहरुले बरबुझारथ नगरेका कारण गाउँ परिषदको मिति तय गर्नका लागि बसेको सर्वदलीय बैठक समेत स्थगित गरिएको एकीकृत नेकपा माओवादीका स्थानीय प्रतिनिधि राम हिङ्माङले बताउनुभयो । हिङमाङका अनुसार सचिव श्रेष्ठले आथिक बर्ष २०६७÷०६८ को गाउँ परिषदबाट ल्यापटप खरिदका लागि छुट्ट्याइएको एक लाख, गाविसको वृत्तचित्रको लागि छुट्ट्याइएको एक लाख, एक थान प्रिन्टर र कम्यूटर टेबल बरबुझारथ गरेका छैन ।  
यस्तै, पूर्व गाविस सचिव खतिवडाले पनि आर्थिक वर्ष २०६९÷०७० को परिषदबाट दिक्तेल–रत्नपार्क–डल्ले खोला सडक निर्माणका लागि छुट्याइएको ३ लाखमध्ये एक लाख रकम हिनामिना गरेको भन्दै आवाज उठेपछि सर्वदलीय बैठक निष्कर्षविहिन बनेको पत्रकार उजुर राईले जानकारी दिनुभयो ।
बैठकमा सहभागीहरुले हिनामिना भएको रकमका बारेमा स्पष्ट जवाफ नआएसम्म गाउँ परिषदको मिति घोषणा गर्न नहुने अडान लिएका छन् । रकम हिनामिना भएको आवाज उठेपछि सर्वदलीय बैठकले नेकपा एमालेका प्रतिनिधि दिल चाम्लिङको संयोजकत्वमा ११ सदस्यीय छानबिन समिति गठन गरेको छ । 
छानबिन समितिले पुुस–१५ गते प्रतिवेदन पेस गर्ने जनाएको छ । समितिले चित्त बुझ्दो जवाफ नदिए थप कारबाहीकालागि जिल्ला बिकास समिति र प्रशासन समक्ष पनि उजुरी दिने सर्वदलीय बैठकले तयारी गरेको छ । पूर्व गाविस सचिव श्रेष्ठले आफ्नो कार्यकालको माईन्यूट आफुलाई नबुझाएको सचिव खतिवडाको भनाइ छ । 
श्रेष्ठले भने, आफ्नो कार्यकालको कुनै बरबुझारथ बाँकी नरहेको बताउनुभयो । सञ्चालन खर्चबाट छुट्याईएको सो बजेटले नपुगेका कारण ल्यापटप तथा अन्य भौतिक सामाग्रीहरु खरिद नगरेको सचिब श्रेष्ठले स्पष्ट पार्नुभयो । 
श्रेष्ठ हाल जिल्ला शिक्षा कार्यालयमा सरुवा भएका छन् भने, खतिवडा नुनथला गाविसमा सरुवा भइसकेका छन् । कार्यरत कार्यालयले बरबुझारथ नै नगरी सरुवाको रमना दिएको भन्दै बैठकमा चर्को आवाज उठेको स्थानीयको भनाइ छ ।