पुस–१५, राजस्व कार्यालय टाढा भएका कारण खोटाङमा नवीकरण गर्ने गैरसरकारी संस्थाहरुको संख्यामा कमी आएको छ । स्थायी पान र कर चुक्ताको प्रमाण–पत्र दिने राजस्व कार्यालय टाढा भएका कारण जिल्लामा नवीकरण गर्ने गैरसरकारी संस्थाहरुको संख्यामा कमी आएको हो । 
जिल्ला प्रशासन कार्यालय खोटाङमा हालसम्म ४ सय ७६ वटा गैरसरकारी संस्थाहरु दर्ता भए पनि नवीकरण हुने संस्थाहरु न्यून रहेको कार्यालयले जनाएको छ । जिल्लामा दर्ता भएका संस्थाहरुमध्ये आर्थिक वर्ष २०६९/०७० मा २१ वटा र आर्थिक वर्ष २०७०/०७१ मा २९ वटा मात्र नवीकरण भएका छन् । 
स्थायी पान र कर चुक्ताको प्रमाण–पत्र लिनका लागि कर कार्यालय लहान पुग्नुपर्ने समस्याका कारण जिल्लामा नविकरण हुने संस्थाहरुमा कमी आएको गैरसरकारी संस्था महासंघ खोटाङका अध्यक्ष दिपनारायण रिजालले बताउनुभयो । जिल्लामा स्थायी पान र कर चुक्ताको प्रमाणपत्र दिने निकायको व्यवस्था नहुँदा गैससकर्मीहरु पैसा र समय खर्च गरेर लहान जान बाध्य छन् । 
भौगोलिक हिसाबले जिल्लाबाट लहान जान र आउन कम्तिमा तीन दिन र उत्तिकै खर्च गर्नुपर्ने हुन्छ । अध्यक्ष रिजालले भन्नुभयो– ‘कर कार्यालय टाढा पर्छ । जिल्लामा लहान जाने र आउने खर्च नभएका संस्थाहरु पनि छन्, त्यहि भएर यस्तो भएको हो ।’ उहाँले थप्नुभयो– ‘आर्थिक रुपमा कमजोर संस्थाहरुको नवीकरण भएको पाइन्न ।’
प्रशासनका अनुसार कतिपय संस्थाहरु २०६३ साल यता नविकरण भएका छैनन् । जिल्लामै कर कार्यालय स्थापना गर्न सकिए नविकरण नहुने संस्थाहरुको संख्या घट्ने जिल्ला प्रशासनको भनाइ छ । 
आर्थिक कारोबार नगर्ने तथा आवत–जावत गर्न सक्ने आर्थिक क्षमता नभएका संस्थाहरु नवीकरण हुन नसकेको रिजालले बताउनुभयो । प्रमुख पदाधिकारीहरु अन्यत्र लागेका संस्थाहरु पनि नवीकणमा पछि परेका छन् ।