पुस–१८,  खोटाङ क्षेत्र नम्बर–२ बाट संविधानसभा सभासद्मा निर्वाचित हुनभएका बिशाल भट्टराई अझैपनि विजयउत्सव मनाइरहनु भएको छ । चुनावमा जितेलगत्तै काठमाडौं पुग्ने परिपार्टीलाई त्याग्दै सभासद भट्टराईले गाउँमा पुगेर आफ्ना कार्यकर्ता, मतदाता तथा शुभेच्छुकसँग बिजयउत्सव मनाइरहनु भएको हो । 
एमालेबाट विजयी बन्नु भएका सभासद भट्टराईले क्षेत्र नम्बर–२ का प्रत्येक गाविसमा पुगेर मतदातालाई ‘धन्यवाद’ दिँदै ‘बधाई’ ग्रहण गरिरहेका छन् । हालसम्ममा क्षेत्र नम्बर–२ को ३७ गाविसमध्ये ३५ गाविस पुगीसकेको सभासद भट्टराईले जानकारी दिनुभयो । 
बाँकी मौवाबोटे र डम्बर्खुशिवालय गाविसमा पनि छिट्टै पुग्ने तयारी गरेको भट्टराईको भनाइ छ । ‘क्षेत्र नम्बर–२ को ३५ गाविस पुगेर मतदातालाई धन्यवाद दिइसकेँ,’ सभासद भट्टराईले भन्नुभयो, ‘अव दुईवटा गाविस पुग्न बाँकी छ, राजधानी जानुभन्दाअघि त्यहाँ पनि पुग्ने छु ।’

गाउँ पुगेको मौका पारेर आगामी संविधानमा उल्लेख गर्नुपर्ने विषयहरु समेत संकलन गर्दै आएको भट्टराईको भनाइ छ । ‘अहिले जनतासँग बिजय उत्सव मनाइरहेका छौँ,’ भट्टराईले थप्नु भयोे, ‘सँगसँगै विकास निर्माण तथा संविधान निर्माणका विषयमा पनि सुझाव संकलन गरिरहेका छौँ ।’ 
जिल्लाको इतिहासमा १९ वर्षपछि कांग्रेसलाई पराजित गर्दै एमालेकातर्फबाट साख फर्काएका भट्टराईले आफ्नो क्षेत्रका सबै गाविस डुलीसकेपछि मात्र राजधानी जाने जानकारी दिनुभयो । एमाले गाउँ कमिटि टेम्माको आयोजनामा बुधबार टेम्मामा ‘वधाई तथा धन्यवाद’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सभासद भट्टराईले सबै वर्गलाई समेटेर जनमुखी संविधान निर्माण गर्न भूमीका निर्वाह गर्ने आश्वासन दिनुभयो ।