पुस–२३, खोटाङको एक द्वन्द्व पीडितले द्वन्द्वकालमा लुटिएको सम्पत्ति वापतको क्षतिपूर्ति माग गरेका छन् । द्वन्द्वकालमा अन्नपात, गरगहना, नगद, भाँडाकुँडा लगायतका सम्पत्ति लुटिएको भन्दै खार्पा–३ का यशोदादेवी पोखरेलले ८ वर्षपछि स्थानीय शान्ति समिति समक्ष क्षतिपूर्तिका लागि माग दावी गरेकी हुन् । 
२०६२ साल जेठमा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले घर कब्जामा लिएर १५० मुरी धान, ५० मुरी मकै २५ मुरी कोदो लुटेर गाउँमा बाँडेको, एक जोर बाला, ४ थान असर्फी, एक थान नोक्सेल, एक थान बेरुवा औंठी, एक थान शिरबन्दी, एक थान मंगलसुत्र लगायतका गरगहना लुटेको भन्दै पोखरेलले क्षतिपूर्तिका लागि निवेदन दिएकी हुन् । पोखरेलले २०६४ साल बैशाख–२० गते जिल्ला प्रशासन कार्यालयमा क्षतिपूर्तिलागि निवेदन दिए पनि हालसम्म क्षतिपूर्ति नपाएको बताउनुभयो । 
२०६२ सालमा विराटनगर गएको समयमा घर हेरालुलाई नियन्त्रणमा लिएर पार्टीको झण्डा गाडेर घर कब्जामा लिएको पोखरेलले दिएको निवेदनमा उल्लेख छ । माओवादी कार्यकर्ताले दुई वर्षसम्म घरमा बस्न नदिएको र आफन्तको घरमा बस्नु परेको भन्दै निवेदन दिएको स्थानीय शान्ति समिति खोटाङका संयोजक राम दंगालले बताउनुभयो । 
यसैबीच, द्वन्द्वकालमा बेपत्ता बनेका दुई सर्वसाधारणमा आफन्तले पनि क्षतिपूर्तिका लागि दाबी गरेका छन् । २०५९ साल कात्तिक–१३ गते माओवादीमा प्रवेश गरेपछि बेपत्ता बनेका बतासे–९ का दिलकुमार राईका आफन्तले बेपत्तावापतको क्षतिपूर्तिका लागि आवेदन दिएका छन् । 
यस्तै, उदयपुरको हडिया जानेक्रममा २०६० साल फागुनमा बेपत्ता बनेका सल्ले–८ का शम्भुप्रसाद सुबेदीका आफन्तले क्षतिपूर्तिका लागि आवेदन दिएको शान्ति समितिले जनाएको छ । उनीहरुलाई निवेदनका आधारमा छानबीन गरी क्षतिपूर्तिका लागि शान्ति मन्त्रालयमा सिफारिस गर्ने शान्ति समितिले जनाएको छ ।