पुस–२४, विद्यालयमा बोर्ड मार्करको प्रयोग हुन थालेपछि खोटाङको मात्तिममा १३ वर्ष अघिदेखि सञ्चालनमा रहेको चक उद्योग बन्द भएको छ । चक खपत हुने प्रत्येक विद्यालयहरुमा ह्वाइट बोर्डका साथमा बोर्ड मार्करको प्रयोग हुन थालेपछि मात्तिम–३ बिर्तामा रहेकोे जिल्लाकै एक मात्र जयपती चक उद्योग बन्द भएको हो । 
वर्षमा ५६ हजार बट्टा बिक्री हुने गरेको चक उद्योग बन्द भएपछि उद्योगका सञ्चालक मारमा परेका छन् । २०५७ सालदेखि सञ्चालन हुँदै आएको उद्योग बन्द भएपछि आम्दानीको श्रोत गुमेको जयपती चक उद्योगका सञ्चालक शिव ढकालले बताउनुभयो । 
ह्वाइट सिमेन्ट, प्लाष्टर पेरिस, चाईनिज माटोबाट बनाइने चक जिल्ला बाहेक छिमेकी जिल्ला भोजपुरमा समेत खपतहुँदै आएको थियो । विद्यालयमा बोर्ड मार्करहरु प्रयोग हुनुअघि प्रायः जिल्लाका सबै विद्यालयमा यही उद्योगमा उत्पादन गरिएको चकको प्रयोग हुने गरेको थियो । 
कालो पार्टी र चकको प्रयोग हुने विद्यालयमा अहिले बोर्ड मार्कर प्रयोग हुन थालेपछि उद्योग बन्द गर्नु परेको ढकालले बताउनुभयो ।