माघ–१, खोटाङको नगरोन्मुख दिक्तेल गाविसले जिल्लामै सबैभन्दा बढि बजेट कृषिलाई विनियोजन गरेको छ । निर्देशिकामा कुल बजेटको न्यूनतम १५ प्रतिशत बजेट बिनियोजन गर्नुपर्ने प्रावधान भएपनि दिक्तेल गाविसले कृषिका लागि २० प्रतिशत बजेट बिनियोजन गरेको हो । 
कृषकलाई कृषि पेशाप्रति उत्साहित गर्नका लागि जिल्लामै पहिलोपल्ट कृषिलाई न्यूनतम भन्दा ५ प्रतिशत बढि बजेट विनियोजन गरिएको दिक्तेल गाविसका सचिव सिताराम खतिवडाले बताउनुभयो । यो जिल्लामै कृषिका लागि छुट्टयाइएको सबैभन्दा बढि बजेट हो ।
कार्यालय सञ्चालन र कन्टेन्जेन्सीको रकम कटाएर बाँकी रहेको कुल ३९ लाखबाट कृषिका लागि ७ लाख ९६ हजार २ सय ९० रुपैयाँ रकम छुट्ट्याइएको सचिव आचार्यको भनाइ छ । यसअघि कृषिका लागि छुट्ट्याइएको बजेट अन्य क्षेत्रको भन्दा उपलव्धीमुलक र प्रभावकारी भएका कारण पनि निर्देशिकाले तोकेभन्दा बढि बजेट कृषिलाई छुट्ट्याइएको श्रोतले जनाएको छ । 
यसपल्ट गाविसको ९ वटै वडाका परिषदले पनि कृषिलाई नै पहिलो प्राथमिकता राखेको युवा कृषक गंगा विश्वकर्माले बताउनुभयो । परिषदले सडक बिस्तारका लागि ५ लाख २० हजार, बसपार्क निर्माणका लागि १ लाख ४४ हजार, खेलमैदान निर्माणका लागि १ लाख ४४ हजार, समाधिस्थल निर्माणका लागि १५ हजार ७ सय १५ रुपैयाँ बजेट पारित गरेको छ ।