माघ–४, अनाधिकृतरुपमा खोलिएको खोटाङका एक औषधि पसलका सञ्चालकले जिल्ला प्रशासनको निर्देशन अवज्ञा गरेको छ । अनाधिकृत औषधि राख्नुका साथै पसल समेत अनाधिकृत रूपमै सञ्चालन गरिएको खुलासा भएपछि औषधि व्यवस्था विभागले पसल बन्द गर्न दिएको निर्देशन अवज्ञा गरेको हो । 
विभागको टोलीले औषधि निरीक्ष्ँणको क्रममा दिक्तेलमा सञ्चालित स्वेता मेडिकल हलमा अनाधिकृत औषधि फेला पार्नुका साथै औषधि पसल समेत अवैध रूपमा सञ्चालन गरिएको खुलासा भएपछि विभागले बन्द गर्ने निर्देशन दिएको थियो । स्थानीयले भने, स्वेता मेडिकल सम्वद्ध व्यक्ति जिल्ला आयुर्वेदिक कार्यालयका कर्मचारी भएकाले प्रशासनबाट समेत कारबाही गर्न आनाकानी गरेको गुनासो  गरेका छन् । 
निमित्त प्रमुख जिल्ला अधिकारी तिलकराम पोखरेलले भने, आफूले तत्काल बन्द गर्न निर्देशन दिइसकेको बताउनुभयो । औषधि विभागका निरीक्षक गणेशकुमार तामाङको नेतृत्वको टोलीले महोत्तरी जिल्लामा दर्ता भएको आयुर्वेदिक प्रणालीको औषधि पसल विना इजाजत दिक्तेलमा सञ्चालन गरिएको, अनाधिकृत औषधि जेनेग्रा सय एमजीको औषधि फेला परेको लगायतका विभिन्न कैफियत फेला परेकाले नियमन नगरुन्जेलका लागि औषधि पसल बन्द गर्न निर्देशन दिएको थियो ।