माघ–६, पूर्व वन राज्यमन्त्री शिवकुमार बस्नेतको आफ्नै गाउँ कार्य समितिले क्रियाशील सदस्यता नवीकरण नगर्ने भएको छ । संविधानसभाको दोश्रो निर्वाचनमा अन्तरघात गरेको आरोपमा आफ्नै जन्मथलो खोटाङको काहुले गाउँ कार्य समितिले बस्नेतको क्रियाशील सदस्यता नवीकरण नगर्ने निर्णय गरेको हो । 
हाल महासमिति सदस्य रहेका बस्नेतले निर्वाचनमा अन्तरघात गरी आफ्नै पार्टीका आधिकारिक उम्मेदवारलाई हराएको भन्दै क्रियाशील सदस्यता नवीकरण नगर्ने निर्णय गरिएको कांग्रेस गाउँ कार्य समिति सभापति वर्तमान राईले बताउनुभयो । गाउँ कार्य समितिले गरेको निर्णय केहि दिनभित्र लिखितरुपमा जिल्ला कार्य समितिलाई पठाउने तयारी गरिएको गाउँ सभापति राईको भनाइ छ । 
बस्नेतको आफ्नै गाउँमा क्रियाशीलताको सदस्यता नवीकरण नगर्ने तयारी भइरहेको जानकारी आएपनि सो निर्णयका विषयमा भने आधिकारीक जानकारी नआएको कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले बताउनुभयो । गाउँ कार्य समितिको क्रियाशील सदस्यता नवीकरण नगर्ने निर्णयसँगै बस्नेत अब पार्टीको गाविस, क्षेत्रीय तथा जिल्ला अधिवेशन एवं केन्द्रीय महाधिवेशनमा सहभागी हुनबाट वञ्चित हुने भएका छन् ।
काहुलेका बस्नेतले वन राज्यमन्त्री बाहेक दुई पटक पार्टीको जिल्ला सभापतिकारुपमा काम गरिसकेका छन् । बस्नेतले टिकट नपाएपछि पार्टीभित्र द्वन्द्व सृजना भएको थियो ।