माघ–१३, किरातेश्वर शिवजीको मूर्ति निर्माणका लागि खोटाङमा महाशिव पुराण गर्ने तयारी गरिएको छ । बाराहाक्षेत्र नजिक पर्ने चतरा धाममा निर्माण गर्न लागिएको १०८ फिट अग्लो शिवको मूर्ति निर्माणका लागि भन्दै सदरमुकाम दिक्तेलमा ११ दिने शिव पुराण गर्ने तयारी गरिएको हो । 
मूर्र्ति निर्माणको सहयोगार्थ आगामी माघ १७ गतेदेखि २८ गतेसम्म सदरमुकाम दिक्तेलको हेलीप्याडमा पुराण गर्न लागिएको संगीतमय शिव पुराण आयोजक समिति खोटाङले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । व्याशाचार्य यदुनन्दन भारद्धाजलाई ल्याएर पुराणको कथा वाचन गरिने संगीतमय शिव पुराण आयोजक समिति खोटाङका अध्यक्ष पवन थापाले जानकारी दिनुभयो । 
खोटाङ उद्योग वाणिज्य संघ सहित स्थानीय १४ वटा संघ–संस्थाहरुको प्रायोजन तथा रेडक्रस लगायतका ४ वटा संघसंस्थाहरुको सहयोगमा पुराणको आयोजना गरिएको हो । पूर्वी नेपालकै धार्मिक तथा पर्यटकीय क्षेत्रको बिकासकालागि थालिएको अभियानलाई सफल बनाउने उद्देश्यले जिल्लामा पनि पुराण लगाउने निर्णय गरिएको अध्यक्ष थापाले बताउनुभयो । 
यसैगरी आर्थिक संकलनका लागि खोटाङको हलेसीस्थित हलेसी क्याम्पसले महायज्ञ शुरु गरेको छ । क्याम्पस सञ्चालनकालागि आवश्यक रकम जुटाउने उद्देश्यकासाथ क्याम्पस सञ्चालक समितिले महायज्ञ शुरु गरेको हो । 
क्याम्पसको शैक्षिक तथा भौतिक स्तर वृद्धिका लागि आगामी माघ–१५ गतेसम्म सञ्चालन हुने श्रीमद भागवत धनधान्यचल ज्ञान महायज्ञ गर्ने शुरु गरिएको महायज्ञा मूल आयोजक समितिका हरि गिरीले बताउनुभयो । गत वर्षदेखि स्नातक तहको कक्षा शुरु गरेको क्याम्पसले विश्व हिन्दू धर्म नारी आव्हान राष्ट्रिय समिति नेपालसँगको सहकार्यमा महायज्ञ शुरु गरेको स्थानीय सिबी राईले जानकारी दिनुभयो ।