माघ–१४, खोटाङको पश्चिमी गाविस दुर्छिमका स्थानीयबासी आफैले ग्रामिण सडक निर्माण गरेका छन् । चन्दा संकलन गरी जम्मा भएको रकमबाट स्थानीयबासीले दुर्छिम–१ पुर्वज शुभेच्छापुञ्जदेखि दुर्छिम–३ र २ हुँदै सुनकोशी जोड्ने १२ किलोमिटर लामो ‘मौवापानी–रातमाटे’ सडक निर्माण गरेका हुन् । 
स्थानीय चन्दादाता, उपभोक्ता तथा गाबिसका सरकारी कर्मचारीको आर्थिक सहयोगमा सडक निर्माण गरिएको ‘मौवापानी–रातमाटे’ सडक निर्माण उपभोक्ता समितिका सदस्य राजन राईले जानकारी दिनुभयो । दुर्छिम–२ र ३ का स्थानीयको पहलमा दुई महिना लगाएर रातमाटे सिरान हुँदै रातमाटे पुछारको सुनकोसी किनारसम्म सडक निर्माण गरिएको हो । 
उर्वर मानिएको रातमाटेमा व्यवसायीकरुपमा लगाइएको तरकारी, सागसव्जी तथा खसी निर्यातकालागि गाउँमा सडक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जसजीत राईले बताउनुभयो । जिल्लामै सबैभन्दा बढि गिटी र बालुवा पाइने सुनकोसी र लुभु खहरेबाट निर्माणजन्य बस्तु निकासीकालागि पनि सडक बिस्तारले बाटो खुलाएको छ ।
विशेषगरीः मध्यपहाडी लोकमार्ग बिस्तारकाक्रममा लुभु खहरेको प्राकृतिक गिटी र सुनकोसीको बालुवा निकासी गर्नकालागि पनि सडक सहयोगी हुने अपेक्षा गरिएको सदस्य राईको भनाइ छ । 
कुल २८ लाखको लागतमा पूरा भएको ग्रामिण सडक निर्माणकालागि दुर्छिम–२ का स्थानीय समाजसेवी नयनकुमार राईले ४ लाख ५० हजार, यादवकुमार राईले १ लाख, दुर्छिम–३ का हम्बर राईले १ लाख, टेकबहादुर राईले ५० हजार आर्थिक सहयोग गर्नु भएको छ । 
ग्रामिण सडक निर्माण अभियान सफल बनाउनका लागि गाउँका इच्छुक दाताहरुबाट कम्तीमा १० हजार देखि बढिमा ४ लाख ५० हजारसम्म आर्थिक सहयोग प्राप्त भएको सदस्य राईले बताउनुभयो । उपभोक्ता समितिका अनुशार सडक निर्माणका लागि १०५ घर उपभोक्ताबाट २७ लाख चन्दा उठेको थियो । समुदायले थालेको सडक निर्माण अभियान पूरा गर्नका लागि गाबिसको १ लाख खर्च गरिएको छ ।