प्रदिप राई 
फागुन-१९ क्वालालम्पुर मलेसिया, मलेसिया जोहोर राज्यको तामान गंभिरामा रहेको आटा कम्पनीमा कार्यरत ओखलढुङगा मुलखर्क – ३ चित्रेका अन्दाजी ४५ वर्षका पृथ्वीवहादुर तामाङको कम्पनीभित्रै मृत्यु भएको छ । सोही कम्पनीमै कार्यरत उनका छोराले बाबुको मृत्युको कारण सोध्दा उनीमाथि समेत सांघातिक आक्रमण भएको छ।
पृथ्वीवहादुर केही समय अगाडिदेखि आफु छात्तिको विरामी रहेको वताउँदै आएका थिए । २६ गते राति डिउटी गएकाबेला विरामी भएपछि सुपरभाईजरसंग मेडिकल जानको लागि मेडिकल स्लिप मागेका थिए । तर, सुपरभाईजरले स्लिप नदिएपछि उनले सकि नसकि काम गरिरहेका थिए । कम्पनीमा कार्यरत साथीहरुका अनुसार विहानीपखको डिउटीको रेष्ट समयमा उनले पनि २० मिनेट रेष्ट लिएका थिए । रेष्ट सकेपछि सवै आ-आफनो ठाउँमा आएर काम गरिरहेको भएपनि पृथ्वीवहादुर नआएपछि साथीभाईले खोज्दा उनको रेष्ट गरेकै ठाउँमा मृत्यु भैसकेको थियो ।
पृथ्वीवहादुरको जेठा छोरा धनराज पनि सोहि कम्पनीमा कार्यरत छन् । दिउँसोको डिउटी भएको कारण उनी भने कोठामा सुतिरहेका थिए । वुवाको मृत्युको खवर थाहा पाएपछि अनड्रेसमै कम्पनीमा पुगेका थिए । उनी त्यहाँ पुग्दा वुवाको शव ग्राउण्ड फलोरमा ल्याईसकिएको थियो । वुवालाई के भएको हो ? कसरी यस्तो भएको हो ? भनेर एउटा सेक्युरिटी गार्डसंग सोधपुछ गर्दा अचानक अर्काे सेक्युरिटीले सलाईरेन्जले टाउकोमा धनराजलाई हिर्काएको प्रत्यक्षदर्शीहरु वताउँछन् । उनी वेहोस वनेर त्यहि ढलेका थिए । त्यसपछि सवैमिलेर उनलाई क्लिनिकमा लगेर उपचार गराईएको थियो ।
उनलाई हिर्काउने गार्डलाई त्यहाँवाट तत्कालै अन्यत्रै लगिएको वुझिएको छ । धनराजलाई हिर्काउने उक्त गार्ड नेपाली रहेको वताइएको छ । मृतक पृथ्वीको शवलाई पोसमार्टमको लागि जेविको सुल्तान अमिना अस्पतालमा राखिएको छ । शवलाई नेपाल पठाउने तयारी भैरहेको वुझिएको छ । पृथ्वीवहादुर २२ महिना अगाडि मात्रै रोजगारीको लागि मलेसिया आएका थिए । मृतकको कान्छा छोरा कुलवहादुर तामाङ पनि सोहि कम्पनीमा कार्यरत रहेकामा चार महिना अगाडि मात्रै नेपाल फर्किएका थिए ।