चैत–१०, आफ्नै बाबुद्वारा बलात्कृत भएकी खोटाङकी एक १४ वर्षीया बालिका समाजमा पुनःस्थापना हुन सकेकी छैनन् । बालसेवा समाज नेपालद्वारा सञ्चालित महिला तथा बालबालिका पुनःस्थापना केन्द्रको संरक्षणमा रहेकी बालिका समाजमा पनःस्थापित हुन नसकेकी हुन् ।
पीडित बालिकाले आफ्नै गाउँमा बस्ने इच्छा भएपनि समाजका केही ब्यक्तिहरुले आफूलाई दुब्र्यबहार गर्ने भएकाले पुनःस्थापना हुन नसकेको जिल्लास्थित सरोकारवाला निकायबीच गुनासो गरेकी छिन् । उनले भनिन्– ‘घरमा गएर त बस्छु, तर, समाजले मलाई स्वीकार्दैनन्, कसरी घर जाउँ ।’
पीडित बालिकाका आफन्तले समेत सदरमुकाम दिक्तेलमा सरोकारवाला निकायबीच बलात्कृत बालिकालाई गाउँमा लगे आफन्तले बालिकाको परिवारलाई नै अस्वीकार गर्ने धम्की दिएपछि समस्या आएको बताएका छन् । सामाजिक रुपमा आफूहरु असुरक्षित भएकाले बालिकालाई पुनःस्थापना गर्न सहयोग पु¥याइदिन पीडित बालिकाकी आफन्तले अपील गरेका छन् ।
यसअघि पीडित बालिकाकी आमा र हजुरबुबा सदरमुकाम आएर बालिकालाई समाजमा पुनःस्थापना गर्न नसक्ने बताएर फर्किएपछि थप समस्या भएको बालसेवा समाज नेपालका अध्यक्ष दिपनारायण रिजालले बताउनुभयो । फागुन २ गतेदेखि महिला तथा बालबालिका पुनःस्थापना केन्द्रको संरक्षणमा रहेकी बालिकालाई सामाजिक रुपमा पुनःस्थापना गराउन आफूहरु लागि परेको उहाँले बताउनुभयो ।
जिल्ला बाल कल्याण समिति अधिकृत रबिन राईले बालिकालाई समाजमा पुनःस्थापना गराउन आफूहरुले सक्दो पहल गरिरहेको भए पनि सफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘जिल्लास्थित राजनैतिक दल, सरोकारवाला निकायबीच छलफल गराएर निष्कर्ष निकाले पछि मात्र बालिकालाई गाउँमै पुनःस्थापना गराउन पहल भइरहेको छ ।’ 
महिला तथा बालबालिका अधिकृत समीक्षा निरौलाले समाजमा पुनःस्थापना गराउँदा कसैले बिरोध गरे कानूनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो– ‘बालिकाको कुनै दोष नभएकाले उनले पुनःस्थापित हुन पाउनु पर्छ ।’
गत माघ २९ गते राती करिब १० बजे छोरीलाई बलात्कार गर्ने बाक्सिला–७ का ४० वर्षीय बस्नेत थरका आरोपित भने, जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपितलाई फागुन २ गते पक्राउ गरी हाडनाता करणी मुद्दा दायर गरेको थियो । 
पीडित बालिकाको जिल्ला अस्पताल दिक्तेलमा फागुन २ गते भर्ना गरी स्वास्थ्यउपचार  गरिएको छ । उनको स्वास्थ्यअवस्था सामान्य रहेको अस्पताल श्रोतको भनाइ छ ।